हरियाली जङ्गलको पुछारमा समथर मैदान । ढुङ्गाको छानो भएका चिटिक्कका घर । पश्चिमतर्फ हिमाल र मन्दिरको प्रतिविम्म देखिने विशाल बराहा ताल । उत्तरतर्फ फर्किदा दन्तलहरजस्तै देखिने सेता हिमाल । छङछङ गर्दै बगेका खोला । रमाइलो प्रकृति तर,उदास उदास लाग्ने बस्ती ।

यो शब्दचित्र म्याग्दीको मालिका गाउँपालिका–७ को विममा पर्ने सुन्दर वाइन्दाफाँटको बस्तीको हो । हेर्दै आकर्षक रैथाने सीप र प्रविधिको प्रयोग गरी बनाइएका आकर्षक ग्रामीण घर रित्ता छन् । फराकिलो आँगनमा बाख्लो झारको साम्राज्य छ । पिँढी र कौसी भत्किन थालेका छन् । घरको धुरीबलो मक्किन थालेको छ । केटाकेटीको कोलाहल सुनिन छोडेको धेरै भयो । गाउँको सौन्दर्यलाई चटक्कै बिर्सेर घरमुली बसाइँ सरेपछि अहिले जिल्लाका अरु गाउँझै वाइन्दाफाँटको गाउँ पनि एक्लिएको छ । गाउँका घरधुरी घरमुली फर्केर आउँछन् की भनेर कुरिरहेकाजस्ता देखिन्छन् ।

गाउँमा ढुङ्गेघर अब हराउँदै गएका छन्, गाउँका मान्छे हराएझैँ । ढुङ्गाले छाएका घर भत्काएरजस्ता पाता र कङ्क्रिटका घर निर्माण गरिए पनि ती घरमा बस्ने मानिस भने गाउँबाट पातलिँदै जान थालेका मालिका गाउँपालिका–७ का रामबहादुर पुनले बताउनुभयो । ग्रामीण क्षेत्रमा यातायातको पहुँच र रेमिट्यान्सबाट प्राप्त आम्दानीका कारण गाउँगाउँमा पक्की घर बनाउने लहर चलेको छ । कङ्क्रिटका पक्की भवन निर्माण हुनेक्रम बढ्दै गएपछि परम्परागत ढुङ्गे घर पातलिँदै जान थालेका छन् भने खरले छाएका घर प्रायः लोप नै भएका उहाँको भनाइ रहेको छ ।रासस