अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घको महानिर्देशक डा अल्भेरो बरमेजोले यही वैशाख १७ गतेदेखि २१ सम्म नेपाल भ्रमण गर्नुहुने भएको छ ।
महासङ्घ यौन तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा कार्य गर्ने सबैभन्दा ठूलो विश्वव्यापी सञ्जाल भएको सस्था हो । महासङ्घमा विश्वका एक सय ४२ देशका परिवार नियोजन सङ्घ आबद्ध छन् । नेपाल परिवार नियोजन सङ्घले पनि उक्त महासङ्घको सदस्यता प्राप्त गरेको छ । सङघले सन् १९६० मा यस महासङ्घको अस्थायी सदस्यता तथा सन् १९६९ मा पूर्णकालीन सदस्यता प्राप्त गरेको थियो । सदस्यता प्राप्त गरेदेखि नै सङ्घले परिवार नियोजन तथा मातृ स्वास्थ्य र यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा कार्य गर्नका लागि नियमित वार्षिकरूपमा उक्त महासङ्घबाट आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गर्दै आइरहेको छ ।
महासङ्घका उच्च नेतृत्वबाट यो तहको दोस्रोे पटक नेपाल भ्रमण हुन लागेको सङ्घले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग महानिर्देशक डा बरमेजोकोे द्विपक्षीय भेटघाट कार्यक्रम तय गरिएको सङ्घद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ । पाँचदिने नेपाल भ्रमणका क्रममा महानिर्देशक डा बरमेजोले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उच्च पदस्थ नेतृत्वसँग नेपालमा यौन तथा प्रजनन स्वास्थ्य सेवाका बारेमा परामर्श गर्नुहुने कार्यतालिका रहेको छ । रासस
