नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाले स्थानीय पाठ्यक्रमअनुरुप कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निर्माण गरेको छ ।

विद्यार्थीलाई गाउँपालिकाको समग्र अवस्थाका बारेमा जानकारी गराउने गरी गाउँपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयको कक्षा १ देखि ५ सम्मका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरिएको हो । गाउँपालिकाले आधारभूत तह १–८ लागि ‘हाम्रो विनयी त्रिवेणी’ नामको पाठ्यक्रम निर्माण गरेको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।

विज्ञ र स्थानीय सरोकारवालाको समन्वयमा तयार भएको स्थानीय पाठ्यक्रमले विनयी त्रिवेणीको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक तथा कृषि, पर्यटनलगायत चिनारीमा समेत सहयोग पुग्े गाउँपालिका अध्यक्ष गिरीले विश्वास व्यक्त गर्नुभयो ।

“चालु शैक्षिकसत्रदेखि कक्षा १–५ सम्मका लागि स्थानीय पाठ्यपुस्तक नै निर्माण गरी अध्यापन सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “नेपालको संविधानले स्थानीय पाठ्यक्रमको परिकल्पना गर्दै त्यसको निर्माण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएकाले त्यसको अभ्यास गरेका छौँ ।”

पाठ्यक्रममा गाउँपालिकाको भूगोल, कला, संस्कृति, इतिहास, भाषा, धर्म, स्वास्थ्य, सरसफाइ, पर्यावरण, पेसा–व्यवसाय, विपद् व्यवस्थापन तथा जीवनोपयोगी सीप समेटेर पाठ्यक्रम निर्माण गरेको विनयी त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बोधराज बस्यालले बताउनुभयो । रासस