१४ वैशाख, काठमाडाैं ।
‘राष्ट्रिय चिया दिवस’ को २७औँ संस्करण यही वैशाख १५ गते विभिन्न कार्यक्रम गरी मनाइँदैछ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा चिया उत्पादक किसान, प्रशोधक, उद्योगी, व्यवसायी, विक्रेता, चिया उपभोक्तालगायतको सहभागितामा दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिँदैछ ।
दिवसका सन्दर्भमा अघिल्लो दिन आज काठमाडौँमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा विभिन्न राष्ट्रबाट सहभागी हुने चियाका क्रेताबिक्रेतालगायत विशिष्ट व्यक्तिको उपस्थितिमा चौथो अन्तर्राष्ट्रिय चिया महोत्सवको आयोजना गरिएको छ ।
कार्यक्रमका अवसरमा नेपाली अर्थोडक्स चियामा लागू हुने ‘ट्रेसाविलिटी प्रणाली’ को सुरुआतसँगै राष्ट्रिय युवा चिया उद्यमीलाई सम्मानसमेत गरिएको जनाएको छ । यस वर्षको चिया दिवसको मूल समारोह भने विदेशी पाहुना, नेपाल सरकारका विशिष्ट व्यक्तित्वको उपस्थितिमा अर्थोडक्स चियाको राजधानी मानिने इलामको फिक्कलमा यही वैशाख १५ र १६ गते आयोजना गरिने भएको छ । उक्त समारोहमा चिया प्रदर्शनी, टि टेस्टीङ, चिया बगैँचा अवलोकन, नेपाल र विदेशी चिया व्यापारीबीच शिष्टाचारपूर्ण व्यापारिक बैठकलगायत विविध कार्यक्रमको आयोजना गरिनेछ ।
इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले १९२० सालमा इलाममा रोपण गरेपछि चियाखेती सुरुआत भएको मानिन्छ । नेपाली चियाको इतिहास लगभग एक सय ६० वर्ष पुरानो रहेको छ । तत्कालीन राजा वीरेन्द्र शाहले २०३९ सालमा झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लालाई चिया क्षेत्रका रूपमा घोषणा गरेपछि सरकारीस्तरबाट व्यावसायिक चिया खेतीको प्रवद्र्धन भएको पाइन्छ ।
नेपालमा चिया तथा कफी क्षेत्रको योजनाबद्ध विकास गर्न नेपाल सरकारले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन, २०४९ अन्तर्गत छुट्टै बोर्ड स्थापना गरेपश्चात् साना किसानको स्तरमा चिया खेतीले व्यापकता पाएको देखिन्छ । यस वर्ष दिवसको नारा ‘गुणस्तर, निर्यात र आर्थिक उपार्जन बढाऔँ, चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडौँ’ रहेको छ ।
वार्षिक तीन अर्ब ४३ करोडको चिया निर्यात
आर्थिक वर्ष २०७८÷७९ को तथ्याङ्क अनुसार नेपालमा २० हजार दुई सय १९ हेक्टरमा चिया रोपण भएको र त्यसबाट २६ हजार तीन सय ७९ मेट्रिक टन चिया उत्पादन भएको छ । हाल १५ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक चियाको विभिन्न मूल्य शृङ्खलामा संलग्न रहेका छन् ।
नेपालले अधिकांश उपभोग्य वस्तु आयात गर्नुपरेको परिप्रेक्ष्यमा मुलुकलाई आवश्यकपर्ने चिया आफँै उत्पादन गरी भारतलगायत तेस्रो मुलुकमा समेत नेपाली चिया निर्यात भइरहेको छ । आव २०७६÷७७ मा रु दुई अर्ब ७८ करोड २८ लाखको ११ हजार १८५ मेट्रिक टन चिया निर्यात भएकामा २०७७÷७८ मा रु तीन अर्ब ७९ करोड ७१ लाखको ११ हजार नौ सय २० मेट्रिक टन चिया निर्यात भएको थियो । आव २०७८÷७९ मा भने रु तीन अर्ब ४३ करोड ४३ लाख बराबरको १२ हजार चार सय ९४ मेट्रिक टन चिया निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
यसैगरी आव २०७६÷७७ मा रु सात करोड ७३ लाख ९७ हजारको दुई सय १८ मेट्रिक टन चिया आयात भएकामा २०७७÷७८ मा रु १५ करोड १३ लाख १२ हजारको तीन सय ४६ मेट्रिक टन चिया आयात भएको तथ्याङ्क छ । आव २०७८÷७९ मा रु आठ करोड ३६ लाख ४५ हजारको दुई सय तीन मेट्रिक टन चिया आयात भएको देखिन्छ ।
त्यस्तै आव २०७७÷७८ मा नेपालमा चियाको आन्तरिक खपत ११ हजार आठ सय २५ मेट्रिक टन रहेकामा आव २०७८÷७९ मा बढेर १३, हजार आठ सय ८५ मेट्रिक टन पुगेको छ । यसले गर्दा अघिल्ला वर्षमा भन्दा चियाको आयात पनि ४० प्रतिशतभन्दा बढीले घटेको छ । विदेशी मुद्रा आर्जन र ग्रामीण अर्थतन्त्रको मुख्य आधार रहेको चिया उद्योगका अगाडि गुणस्तरीय उत्पादन, अन्तर्राष्ट्रिय बजार, व्यावसायिक तथा दिगो खेती प्रविधि, अनुसन्धान एवं विकासका थुप्रै चुनौती रहेको बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
नेपाली चियाको ९० प्रतशितभन्दा बढी निकासी भारतसँग रहेको छ । तर प्रत्येक वर्ष निर्यातमा खडा हुने बाधाव्यवधान, झन्झटिलो प्रक्रिया, नेपाली चिया कमसल रहेको तथा मिसावटयुक्त रहेको जस्ता आरोप खेप्नुपरेको छ । यसले नेपाली चिया गुणस्तरमा अब्बल हुँदाहुँदै पनि अति नै न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यताका कारण नेपाली चिया क्षेत्र क्षमताअनुसार नाफामूलक बन्न सकिरहेको छैन ।
उत्पादन सुरु भएको डेढ सय वर्ष नाँघिसक्दा पनि नेपालमा चियाको उत्पादन तथा प्रशोधन प्रविधिसम्बन्धी विषयमा आवश्यक अनुसन्धानात्मक कार्य नहुँदा नेपालको आफ्नै चियाको जात एवं प्रविधि विकास हुन सकिरहेको छैन ।
यस्तै चिया क्षेत्रमा आवश्यक बिजुली तथा सिँचाइ पूर्वाधारको कमी, भन्सार नाकामा निर्यात प्रवद्र्धनका लागि आवश्यक द्रुतगतिमा नतिजा दिनसक्ने अन्तर्राष्ट्रिय मापदण्डअनुसारको प्रयोगशाला नहुनु, अति नै न्यून विनियोजित स्रोतसाधनलगायत अन्य कृषिजन्य उद्योगसरह सहुलियत ऋणलगायतका सुविधाबाट नेपाली चिया क्षेत्र वञ्चित हुनुपरेको छ ।
बढ्दो व्यापार घाटा कम गर्न चियाको गुणस्तरीय उत्पादनमा वृद्धि गरी निर्यात गर्नुको विकल्प छैन । हाल भारत, श्रीलङ्कालगायतका राष्ट्रले चियामा भ्यालुएड गरी प्रतिस्पर्धी बजारमा आफ्नो स्थान सुरक्षित गरिरहेका छन् । नेपालले पनि आम उपभोक्ताको मागअनुसार सङ्ख्यात्मक उत्पादनमा मात्रै नभएर तयारी चियाको विशिष्टकृत गुणस्तरमा ध्यान दिन अतिजरुरी देखिन्छ । कार्यकारी निर्देशक भट्टराईले नेपालले पनि आन्तरिक बजार प्रवद्र्धन गरी खुला बजार नीतिअनुरुप दीर्घकालीन समस्या समाधानका लागि चीन, रुस, अमेरिका, युरोपियन राष्ट्रसँग सम्झौता गरी त्यहाँ रहेका नेपाली कूटनीतिक नियोगमार्फत नेपाली चियाको ब्राण्ड प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
यसले गर्दा वार्षिक करिब रू चार अर्ब मूल्य बराबरको चिया निर्यात हुँदै आएकामा अहिलेकै उत्पादन परिमाण कायम रहँदा पनि त्यसलाई बढाएर रु १० अर्बदेखि रु १२ अर्बको निर्यात मूल्य बनाउन सकिने सम्भावना नेपाली चियाले बोकेको छ । स्राेत रासस