चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको इच्छाकामना मन्दिरका पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ ।

ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण गरिएको हो । विसं २०७५ असार ७ गते शिलान्यास गरेर काम सुरु भएको मन्दिरको ९५ प्रतिशत काम सकिएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले बताउनुभयो । उहाँले अब मन्दिरमा बत्ती जडान, ढुङ्गा बिच्छाउने र पर्खाल लगाउने केही काम बाँकी रहेको बताउनुभयो । “गाउँपालिका र प्रदेश सरकारको झन्डै रु दुई करोडको लागतमा मन्दिर निर्माणमा खर्च भइसकेको छ”, उहाँले भन्नुभयो, “चारपाँच लाख चन्दादाताबाट पनि बटुलिएको छ ।” मन्दिर निर्माणका लागि स्थानीयले श्रमदानसमेत गरेको उहाँको भनाइ छ । यस वर्ष प्रदेश सरकारले विनियोजन गरेको रु १० लाख र गाउँपालिकाले विनियोजन गरेको रु आठ लाखको काम भइरहेको बोहोराले बताउनुभयो ।

पृथ्वी राजमार्गअन्तर्गत फिस्लिङबाट १८ किलोमिटर कच्ची सडक र छ सय मिटर हिँडेपछि इच्छाकामना मन्दिर पुग्न सकिन्छ । मन्दिर निर्माण समितिका उपाध्यक्ष यानबहादुर गुरुङले बर्खाको समयमा गाडी नचल्ने र बोकेर सामान लैजानुपर्दा ढुवानी महँगो परेको बताउनुभयो । उहाँले एक महिनाभित्र मन्दिर पुनःनिर्माणको काम सकिने बताउनुभयो । कोरोना र आर्थिक समस्याले मन्दिर निर्माणमा ढिलाइ भएको उहाँको भनाइ छ । रासस