बाँकेमा ठेकेदार कम्पनीको लापरवाहीका कारण पाँच पुल अधुरै छन् । लुम्बिनी प्रदेश सरकारको लगानीमा पुल निर्माणको जिम्मा लिएका ठेकेदारले सम्झौताको समय सकिँदा पनि काम सम्पन्न गरेका छैनन् ।

लुम्बिनी प्रदेश सरकारको लगानीमा बाँकेमा निर्माण भइरहेका सातवटा पुलमध्ये पाँचवटाको काम अधुरै रहेको सडक पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजन इञ्जीनियर ललितबहादुर न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण सम्पन्न हुन नसकेका पाँच पुलमध्ये गाल्भा÷सिद्धार्थ दर्शन जेभीले ठेक्का पाएका तीन र अञ्जना यादव जेभीले ठेक्का पाएका दुईवटा पुल अझै अधुरै छन् ।

ती पुलमध्ये गाल्भाले निर्माण गरिरहेका तीन पुलको काम सम्पन्न गर्नुपर्ने समय एक वर्ष थपिएकामा सो समय पनि सकिन लागेको र अञ्जना यादव जेभीले निर्माण गरिरहेको दुई पुलको समेत सम्झौता म्याद सकिए पनि पुल अधुरै रहेको छ । वर्षायाम सुरु हुन लाग्दासमेत पुलको काम सम्पन्न नभएपछि स्थानीयवासीलाई आवतजावतकै चिन्ताले सताउन थालेको खजुरा–२ का अगुवा कृषक गेहेन्द्र धितालले बताउनुभयो ।

किरणनाला खोलामा पुल निर्माण नहुँदा सर्वसाधारणलाई आवतजावत र कृषि उपज नेपालगञ्जसम्म पु¥याउन धेरै कठिनाइ हुने गरेको उहाँको भनाइ छ । खजुरा गाउँपालिका–२ ‘सी’ गाउँस्थित किरणनालामा निर्माणाधीन पुल गाल्भाले बनाउन लागेको २० महिना भइसक्यो । पच्चीस मिटरको सो पुल २०७९ असार २५ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी कम्पनीले २०७७ फागुन १९ गते सम्झौता गरेको थियो तर हालसम्म ३५ प्रतिशतमात्र काम भएको छ ।

गाल्भाले नै बाँकेको वैजनाथ गाउँपालिका–५, वनखेतमा रहेको किरणनालामा २५ मिटरको पुल र जानकी गाउँपालिका–४ छत्रपुरमा रहेको किरणनालामै २५ मिटरको पुल निर्माण सोही समयमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । तर सम्झौताको निर्धारित मितिसम्ममा कम्पनीले दुवै पुलको काम करिब ४० प्रतिशतमात्र पूरा गरेको सडक पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजन इञ्जीनियर न्यौपानेले बताउनुभयो । रासस