पाटनकी पूर्वकुमारी (जिवित देवी) समिता बज्रचार्याको जीवनयात्रालाई दर्साउने फोटो प्रदर्शनी पाटन सङ्ग्रहालयमा आजदेखि सुरू भएको छ । विसं २०६७ देखि २०७१ सालको अवधिमा पाटनमा जिवित देवी कुमारीको रुपमा पुजिएकी बज्राचार्यको कुमारी घर प्रवेशदेखि बाहिर निस्किएपछि सौन्दर्य प्रतियोगिता ‘मिस नेशनल’ सम्मको जीवनीलाई तस्बिरमा सङ्ग्रहित गरेर प्रदर्शनी गरिएको संयोजक तथा फोटोग्राफर कुवेर डङ्गोलले जानकारी दिनुभयो ।
“तस्बिर खिच्ने क्रममा यो योजना बनेको हो । उहाँको जीवनी कुमारी घरभन्दा बाहिर कस्तो हुन्छ भन्ने जिज्ञासा भएर त्यसलाई तस्बिरमार्फत देखाउने योजना बन्यो”, संयोजक डङ्गोलले भन्नुभयो, “मसँग कुमारी घरबाट निस्किएपछिको तस्बिर थियो । उहाँको अगाडिको जीवनी झल्किने तस्बिर फोटो पत्रकार नरेन्द्र श्रेष्ठसँग भएकाले सहकार्य गरेर प्रदर्शनीको आयोजना गरिएको हो ।”
प्रदर्शनी वैशाख १९ गतेसम्म चल्नेछ । आज एक कार्यक्रमको बीच फोटो प्रदर्शनीको उद्घाटन गर्दै ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले पूर्वकुमारीको जीवनीलाई तस्बिरमा कैद गरेर प्रदर्शन गरिनु आफैँमा राम्रो कार्य रहेको बताउनुभयो । “कुमारी घरबाट निस्किएपछि उहाँले के कस्तो रूपमा बाहिरी संसारलाई बुझ्नुभएको छ भन्ने जिज्ञासा यस किसिमको प्रदर्शनीले मेटाउने छ । पूर्वकुमारीबाट सुनिएको गुनासोलाई सम्बोधन गर्दै उहाँहरूको सेवा सुविधा थपिने गरी निर्णय गर्नेछौँ”, प्रमुख महर्जनले भन्नुभयो।रासस