हिमाली जिल्ला मनाङको चार पालिकामध्ये तीन पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका छन् । दुई पालिकामा करिब दुई वर्षदेखि निमित्तको भरमा नै सेवा प्रवाह भइरहेको छ ।

मनाङको विकट क्षेत्र नार्पाभूमि गाउँपालिका र ङिस्याङ गाउँपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ । करिब दुई वर्षअघि यस पालिकाका प्रमुख प्रशासकीय अधिकृत सरुवा भएसँगै निमित्तको भरमा चलिरहेको हो ।

नार्पाभूमि प्रशासकीय अधिकृत उमेश पाख्रिनको भरमा सेवा प्रवाह भइरहेको गाउँपालिकाले जनाएको छ । नार्पाभूमिका अध्यक्ष कोन्जो तेञ्जिङ लामाले विकट क्षेत्र भएर कर्मचारी आउन नमान्दा हालसम्म प्रमुख प्रशासकीय अधिकृत आइनपुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रदेश तथा सङ्घ सरकारसमक्ष समस्या पटक–पटक राख्दासमेत सुनुवाइ भएको छैन, निमित्त राखेर भए पनि सेवाग्राहीलाई सेवा दिएका छौँ ।” विकट क्षेत्रमा कर्मचारी आउन पनि सकस भएपछि जनताको सेवा कसरी गर्ने भन्ने छुट्टै समस्या सिर्जना हुने गरेको उहाँले बताउनुभयो ।

सम्बन्धित निकायले दुर्गम होस् वा सुगम सबै स्थानमा रिक्त रहेको कर्मचारी पूर्ति गरिदिए सेवाग्राहीलाई सेवा दिन सहज हुने उहाँको भनाइ छ । सहज नभएको स्थानमा नै कर्मचारी आइनपुग्दा विकट क्षेत्रमा सेवा प्रवाहमा पनि समस्या हुने गरेको उहाँले बताउनुभयो ।

त्यस्तै ङिस्याङ गाउँपालिका पनि प्रमुख प्रशासकीय अधिकृतविहीन अवस्थामा नै सञ्चालन भएको लामो समय भइसकेको अध्यक्ष कान्छा घलेले जानकारी दिनुभयो । “निमित्त प्रमुख प्रशासकीय अधिकृत सूर्यनारायण यादवको भरमा सेवा प्रवाह गरिरहेको छ”, उहाँले भन्नुभयो, “यहाँका प्रमुख प्रशासकीय अधिकृत सुरुवा भएदेखि नै को आउने ? कहिले आउने कसैलाई हालसम्म खबर पाएका छैनौँ, जनताको सेवा प्रवाहका लागि निमित्तले काम चलाएका छौँ ।”

त्यसैगरी सदरमुकामकै पालिका चामे गाउँपालिका पनि केही महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । पालिकाको कार्यकारी सरुवा भएपछि हालसम्म कोही पनि आइनपुगेको गाउँपालिकाका अध्यक्ष लोकन्द्रबहादुर घलेले जानकारी दिनुभयो ।

“हालसम्म कोही पनि हाजिर हुन आइपुग्नु भएको छैन, निमित्त पनि तोकिएको छैन, सेवा प्रवाहमा समस्या भएको छ”, घलेले भन्नुभयो, “विशेषगरी भुक्तानीमा समस्या हुने गरेको छ ।” आर्थिक वर्षको चौमासिक चलेको समयमा कार्यकारी नहुँदा सेवा प्रवाहमा अझ बढी समस्या भएको उहाँले बताउनुभयो । कर्मचारीको अन्यौलताले विकट क्षेत्रमा बजेट फ्रिज र विकासका कार्यमा समस्या उत्पन्न हुने गरेको उहाँको भनाइ छ । सम्बन्धित निकायले समयमा ध्यान पुर्याएमा सहज हुने स्थानीय बताउँछन् ।रासस