साहित्यकार तथा संस्कृतिविद् प्राज्ञ धीरेन्द्र प्रेमर्षि तथा साहित्यकार÷सञ्चारकर्मी रूपा झाले आफ्ना पिता पण्डित कृष्णलाल झाको स्मृतिमा शिक्षा पुरस्कार स्थापना गर्नुभएको छ । सामुदायिक विद्यालयको शिक्षण तथा शैक्षिक उन्नयनमा उल्लेख्य योगदान पु¥याउने विशिष्ट शिक्षासेवीलाई वर्षेनी पुरस्कृत गर्ने उद्देश्यले सो पुरस्कारको स्थापना गरिएको हो ।
जेठा छोरा अक्षेन्द्रको जन्मदिनका उपलक्ष्यमा अक्षय कोषबाट प्रदान गर्ने गरी वार्षिक रु ५१ हजार को ‘पं कृष्णलाल झा स्मृति शिक्षा पुरस्कार’को स्थापना गरिएको प्राज्ञ प्रेमर्षिले जानकारी दिनुभयो । विसं २००४ मा स्थापित नेपालको पूर्वाञ्चल क्षेत्रकै उत्कृष्ट शैक्षिक प्रतिष्ठानका रूपमा परिचित सिरहाको बस्तीपुर माध्यमिक विद्यालयका संस्थापक शिक्षकमध्येका एक कृष्णलालले उक्त विद्यालयमा अविच्छिन्नरूपमा लामो समयसम्म शिक्षण गर्नुभएको थियो ।
शिक्षासेवी झाको स्मृति दिवसका दिन बस्तीपुर (सिरहा) स्थित उहाँले अध्यापन गर्नुभएको सो विद्यालयको परिसरमा पुरस्कार समर्पण समारोह आयोजना गरिने प्राज्ञ प्रेमर्षिले बताउनुभयो । बस्तीपुर माविबाट एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याउने एक छात्र÷छात्रालाई रु ११ हजार राशिको ‘कृष्णानन्दी प्रोत्साहन पुरस्कार’ तथा सोही विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताइएको छ ।
कृष्णलालकी धर्मपत्नी आनन्दीदेवी प्रमुख संरक्षक र जेठा छोरा राजेन्द्र संरक्षक रहनुभएको पुरस्कार कोष सञ्चालनका लागि प्राज्ञ प्रेमर्षिको अध्यक्षतामा बस्तीपुरका कुमुदरञ्जन बराल, शेखर गिरी, डा रेणु अधिकारी, गोविन्द यादव, जुगुत राम, राकेश रेग्मी र रूपा झा सदस्य तथा देवेन्द्र झा, योगेन्द्र झा, वीरेन्द्र झा, महेन्द्र झा, जीतेन्द्र झा, विमला झा र विभा झा सल्लाहकार रहनुभएको समिति गठन गरिएको छ ।रासस