सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेललाई विशेष पर्यटकीय नगरी बनाउन माग गरिएको छ । काठमाडौँ महानगरपालिका–२६ ले आज यहाँ आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा आव २०८०/८१ को वार्षिक योजना तर्जुमा कार्यक्रममा महानगरपालिकाको २६ नम्बर वडामा पर्ने ठमेललाई विशेष पर्यटकीय नगरी बनाउन माग गरिएको हो ।

कार्यक्रममा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले अन्तर्राष्ट्रिय जगतमा चीरपरिचित ठमेललाई विशेष पर्यटकीय नगरी घोषणा गर्नुपर्ने बताउनुभयो । “नेपाल घुम्न आएकामध्ये ८० प्रतिशत विदेशी पर्यटक ठमेल आउने गरेका छन्, यसलाई विशेष पर्यटकीय नगरी घोषणा गर्नसके काठमाडौँ महानगरपालिका र ठमेलको सान अन्तर्राष्ट्रियस्तरमा बढ्न सक्थ्यो”, उहाँले भन्नुभयो ।

अध्यक्ष शर्माले ठमेल क्षेत्रमा करिब १० हजार व्यवसाय सञ्चालन रहेको र ५० हजार व्यक्तिले प्रत्यक्ष रुपमा रोजगारी पाएको बताउनुभयो । उहाँले ठमेल क्षेत्रका भित्रि गल्लीहरु कालोपत्रे गर्नुपर्ने, सडक बत्ती तथा सिसी क्यामरा जडान गर्न वडा लाग्नुपर्ने बताउनुभयो । सार्वजनिक कार्यक्रममा ठमेल पर्यटन विकास परिषद्ले पर्यटन सूचना केन्द्र स्थापना हुनुपर्ने, ठमेल प्रवेशद्वार चाँडो सञ्चालन गर्नुपर्ने, ठमेलभित्र सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने, ठमेल भित्रका सम्पदालाई रङरोगन गर्नुपर्ने माग गरेको छ ।

कार्यक्रममा नयाँ बसपार्कस्थित मित्रनगर विकास तथा टोल सुधार समितिका अध्यक्ष दीपक सिम्खडाले मित्रनगरभित्रका बाटो चाँडो कालोपत्रे गर्न माग गर्नुभयो । वीरेन्द्र ऐश्वर्य मार्ग समितिका अध्यक्ष उमाशङ्कर दवाडीले पानी जम्ने बाटो चाँडो कालोपत्रे गर्न माग गर्नुभयो । गोगबु आवास क्षेत्रका महासचिव तिलबहादुर अधिकारीले गोगबु आवास क्षेत्र प्रवेशद्धार चाँडो निर्माण गर्नुपर्ने बताउनुभयो । रासस