बढ्दो सुक्खायामका कारण खोला तथा नदीमा जलसतह घट्दा नदीप्रवाही जलविद्युत् आयोजनाको विद्युत् उत्पादन करिब २५ प्रतिशतको हाराहारीमा सीमित हुन पुगेको छ ।

झण्डै दुई सय मेगावाट बिजुली उत्पादन गर्ने काबेली करिडोरको पछिल्लो उत्पादन झण्डै ३० मेगावाटको हाराहारीमा छ । सोही कारण बिजुली आपूर्तिमा समस्या देखिँदा पूर्वका केही उद्योगमा समस्या देखिएको छ ।

यद्यपि, पूर्णरुपमा बिजुली काटिएको भनेर उद्योगी तथा व्यवसायीले लगाएको आरोपमा प्राधिकरणले भनेको छ, “पूर्णरुपमा बिजुली काटिएको होइन, पूर्ण क्षमतामा नचलाउनुस् भनिएको हो । ‘लाइट लोड’ कायम छ ।” विराटनगर क्षेत्रमा उद्योगी तथा व्यवसायीले प्राधिकरणले लोडसेडिङ गरेको भन्दै विरोध गरेका छन् ।

प्राधिकरणले आज पनि विराटनगर क्षेत्रमा नियमित रुपमा बिजुली आपूर्ति गरेको छ । कुनै पनि समस्या नरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुक्खायाममा औद्योगिक क्षेत्रको लोडसेडिङ गतवर्ष भन्दा सहज अवस्थामा छौँ । एकाध क्षेत्रमा केही प्राविधिक समस्या देखिएको थियो । त्यो समाधान भइसकेको छ ।”

धेरै ठाउँबाट आयात गर्न सक्ने अवस्था नभएका कारणले पनि केही जटिलता स्वभाविक रुपमा पैदा भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “उद्योगले विगत केही समयदेखि लोड काटियो भनेर उजुरी गरेका थिए । रुपैनीमा प्राविधिक समस्या देखिएको थियो । सोही कारण पूर्वाञ्चलमा समस्या भएको हो । अहिले कुनै जटिलता छैन ।”रासस