कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान चेतराज चौधरीले यसपटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई गहुँ बेच्नुभएन । उत्पादित ५३ क्विन्टल गहुँ उहाँले गाउँमै बिक्री गर्नुभयो ।
खाद्यले निर्धारण गरेको गहुँको मूल्यभन्दा राम्रो मूल्य गाउँमै पाएपछि खाद्यलाई गहुँ बिक्री नगरिएको कृषक चौधरीले बताउनुभयो । “गाउँमै गहुँको राम्रो मूल्य पाइयो, “हामीले रु चारहजारदेखि रु चार हजार दुईसय प्रतिक्विन्टलका दरले गाउँमै गहुँ बेचिरहेका छौँँ”, कृषक चौधरीले भन्नुभयो, “खाद्यले गहुँको मूल्य चलनचल्तीभन्दा धेरै कम निर्धारण गरेको छ ।”
खाद्यले यस वर्ष गहुँको मूल्य प्रतिक्विन्टल रु तीन हजार तीन सय रुपैयाँ ५१ पैसा निर्धारण गरेको छ । ग्रामीण भेगमा गहुँ प्रतिक्विन्टल रु चार हजारदेखि रु चार हजार दुई सयसम्ममा खरिद बिक्री भइरहेको छ । “विगत वर्षभन्दा यसवर्ष गहुँको उत्पादन राम्रो भएको छ, गाउँमै किसानले मूल्य पनि पाएका छन्” किसान चौधरीले भन्नुभयो, “त्यसैले गहुँ बिक्रीका लागि खाद्यसम्म पुगेका छैनन्, गहुँको मूल्य अझै बढ्नसक्छ ।”
किसानले गाउँमै गहुँको मोल पाउन थालेपछि खाद्यलाई बिक्री नगरेर गाउँमै बिक्री गरिरहेका छन् । गहुँ खरिद गर्ने सरकारी निकाय खाद्यले गहुँको मूल्य बजारमा चलनचल्तीभन्दा कम निर्धारण गरेकोले हालसम्म गहुँ खरिद नै गर्न सकेको छैन । उक्त संस्थाले गत चैत १४ मा मूल्य निर्धारण गरेर १६गते देखि गहुँ खरिद गर्ने निर्णय गरेकामा हालसम्म गहुँ खरिद नै नभएको कम्पनीका निमित्त प्रमुख तपेन्द्र उपाध्यायले बताउनुभयो ।रासस