बुद्धजयन्ती तथा लुम्बिनी दिवसको अवसरमा विभिन्न कार्यक्रमको तयारी सुरु भएको छ । प्रत्येक वर्ष वैशाख शुक्लपूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ ।
यसपटक वैशाख २२ गते परेको २५६७र्औं बुद्धजयन्तीलाई भव्य बनाउन लुम्बिनी विकास कोषले मुल व्यवस्थान समिति र विभिन्न उपसमिति गठन गरिसकेको छ ।
बुद्धजयन्तीको तयारीका लागि विकास कोषका उपाध्यक्ष भिक्षु अवधेशकुमार त्रिपाठीको संयोजकत्वमा मूलसमिति गठन गरिएको छ । विकास कोषका सदस्य सचिव सानुराजा शाक्यको संयोजकत्वमा सुरक्षा र स्वयमसेवक उपसमिति गठन गरिएको छ । त्यस्तै कोषाध्यक्ष सिद्धिचरण भट्टराईको संयोजकत्वमा प्रचारप्रसार उपसमिति र योजना प्रमुख सरोज भट्टराईको संयोजकत्वमा मञ्च, सरसफाइ र वृक्षरोपण उपसमिति गठन गरिएको छ ।
यस्तै पुरस्कार तथा सम्मान व्यवस्थापन उपसमिति, पूजा परित्राण उपसमिति, बिहार गुम्बा समन्वय उपसमिति, देवदह, रामग्राम, कपिलवस्तु समन्वय उपसमिति, सुरक्षा, छात्रवृत्ति, खेलकुद, यातायात, भोजन तथा प्रसाद, शोभा यात्रा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
विश्व शान्तिको प्रमुख केन्द्र लुम्बिनीमा हुने बुद्धजयन्तीको औपचारिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन कार्यक्रम भएकाले उक्त अवसरलाई प्रभावकारी बनाउन भव्य तयारी भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो । सो अवसरमा नेपालस्थित विभिन्न देशका राजदूतलाई कार्यक्रममा निमन्त्रणा गरिएको छ । रासस