काठमाडौँ महानगरपालिका–७ मा पर्ने शान्ति गोरेटोमा मोटर गुड्ने भएपछि स्थानीय खुसी भएका छन् । यसअघि उक्त स्थानमा गोरेटो बाटो साँघुरो थियो । पानी पर्दा हिलाम्मे हुने र घाम लाग्दा धुलाम्य हुँदा स्थानीय समस्या भोग्दै आएका थिए ।

त्यसका कारण आवतजावतमा निकै सास्ती थियो । ढल निकासको व्यवस्था पनि थिएन । चालु आर्थिक वर्षमा कामपाको बजेटबाट सडकमा ढलान गर्ने र ढुङ्गा छाप्ने योजनाअन्तर्गत अहिले दुई सय ८३ मिटर सडकमा ढल राखेर ढलान गरिएको छ । कतै अतिक्रमण हटाएर, कतै स्थानीयसँग समन्वय गरेर चौडाइ चारदेखि पाँच मिटरसम्मको बनाइएको छ ।

उपभोक्ताको पाँच प्रतिशत योगदान रहेको कार्यक्रमको सम्झौता रकम रु ५६ लाख ५४ हजार आठ सय ८० रहेको महानगरले जनाएको छ । सडक मर्मतका लागि यही वैशाख ३० गतेसम्मको अवधि दिइएको थियो । उपलब्ध गराइएको समयभन्दा अगाडि नै योजना सम्पन्न भएपछि उक्त सडक आजबाट सञ्चालनमा आएको हो । आज सडक सञ्चालनको शुभारम्भ गर्दै प्रदेशसभा सदस्य श्रीराम लामिछानेले स्थानीय सरकारको काममा प्रदेशसभाका तर्फबाट आवश्यक पर्ने सहयोग उपलब्ध गराउने र सँगै काम गर्ने धारणा राख्नुभयो ।

“सडक निर्माण हुनु जत्तिकै महत्वपूर्ण कुरा भनेको सडकको उपयोग हो र यसलाई दुरुपयोग हुनबाट बचाउनु हो”, वडा नं ७ का वडाध्यक्ष विमलकुमार होडाले भन्नुभयो, “वडाको समग्र एवं दिगो विकासका लागि हामी हाम्रा योजनाको सामाजिक परीक्षण गराउने तयारीमा छौँ, यस्तै दीर्घकालीन योजनाका लागि कार्यशालामार्फत स्थानीय माग र आवश्यकता अध्ययन भइरहेको छ ।” रासस