म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको अर्जम र बेनपा–२ ज्यामरुककोटको रानीवन सामुदायिक वनमा आज सल्किएको डढेलो साँझसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । डढेलोले दुईवटै सामुदायिक वनको गरी करिब ३० हेक्टर वन क्षेत्रमा क्षति पु¥याएको स्थानीय पदम खड्काले जानकारी दिनुभयो । वैशाख महिना सुरु भएयता जिल्लाका विभिन्न ठाउँका जङ्गलमा भएको आगलागीले जिल्लामा एक सयभन्दा बढी हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ ।

गत आइतबार दिउँसोदेखि जिल्लाको बेनी नगरपािलका–३ भकिम्लीको गजुरे सामुदायिक वनमा भएको भीषण आगलागी सोमबार साँझ नियन्त्रणमा आएको थियो । त्यसैगरी अघिल्लो शुक्रबारदेखि बेनी नगरपालिका–२ ज्यामरुककोटको सल्लेरी सामुदायिक वनमा र अर्थुङ्गे सामुदायिक वनमा भएको आगलागी नियन्त्रणमा आएको जिल्ला वन डिभिजन कार्यालय म्याग्दीले जनाएको छ ।

आज रत्नेचौरको अर्जम सामुदायिक वन र ज्यामरुककोटको रानीवन सामुदायिक वनमा भीषण आगलागी भएको छ । आगलागी बस्तीमा पस्ने त्रासमा गाउँले नियन्त्रणमा जुटेका छन् । सामुदायिक वनबाट सुरु भएको आगो फैलिँदै गएको बेनी नगरपालिका–२ का वडासचिव राजाराम शर्मा सापकोटाले जानकारी दिनुभयो ।

“अहिलेसम्म दुवै सामुदायिक वनको कम्तीमा ३० हेक्टर क्षेत्रफल आगलागीले ध्वस्त बनाएको छ, बस्तीमा पुग्न नदिन गाउँले नियन्त्रणमा जुटेका छन्”, स्थानीय पदम खड्काले भन्नुभयो । यता डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले आगलागी क्षेत्रमा कर्मचारी र स्थानीयवासी आगो नियन्त्रणमा लिन जुटेका जानकारी दिनुभयो ।रासस