नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी, कम्युनिष्ट र परिवर्तन चाहनेलाई एमालेमा आउन आग्रह गर्नुभएको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा नेकपाको हिरक महोत्सव (७५औँ स्थापना दिवस) समारोहमा उहाँले सबै पार्टीमा रहेका वामपन्थी, कम्युनिष्ट र परिवर्तन चाहने देशभक्तलाई एमालेमा आउन आग्रह गर्नुभयो ।

उहाँले कम्युनिष्ट पार्टी स्थापना भएसँगै नेपालमा कम्युनिष्टमाथि पटक–पटक प्रहार भएको बताउनुभयो । “नेपालमा कम्युनिष्ट पार्टी जन्मेदेखि प्रहार आएको आयै भयो । हाम्राविरुद्ध षड्यन्त्र भए । हामीले बलिदान दिनप¥यो । तर हामी कम्युनिष्ट लडेको लड्यै ग¥यौ”, उहाँले भन्नुभयो, “अनेक प्रकारका दुःखकष्ट झेल्नुप¥यो । तर पनि हामीले कम्युनिष्ट आन्दोलनलाई भने अगाडि नै बढायाँै ।”

उहाँले पछिल्लोपटक २०७७ सालमा पनि नेकपामाथि आक्रमण भएको बताउनुभयो । तर पनि ती सबै अवस्थालाई पार गरेर एमाले अहिले ठूलो पार्टी भएको उहाँको भनाइ छ । अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउनेसमेत दाबी गर्नुभयो । उहाँले कम्युनिष्ट स्थापना ७५ वर्ष प्रवेश गरेको उपलक्ष्यमा पार्टीले उत्सवको वर्षका रूपमा मनाइनेसमेत जानकारी दिनुभयो ।

उहाँले हामी बलियो भयौं भने मित्रराष्ट्रले पनि खोजीनीति गर्ने भएकाले एमाले बलियो हुनुको विकल्प नभएको बताउनुभयो । पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्मचार्य, निरन्जनगोविन्द वैद्य र नारायण विलासले नेपालमा पहिलोपटक २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना भारतको कलकत्तामा गर्नुभएको थियो ।रासस