भक्तपुरमा पर्यटक आगमनबाट नौ महिनामा रु १३ करोड ४४ लाख शुल्क सङ्कलन
कोरोना भाइरस सङ्क्रमणको महामारीपछि सुस्ताएको पर्यटकको आगमन पछिल्लो समय बढ्न थालेको छ । पछिल्लो एक वर्षमा भक्तपुर आउने पर्यटकको सङ्ख्या बढेपछि पर्यटन व्यवसायमा आशा पलाएको छ ।

भक्तपुर नगरपालिका क्षेत्रमा ऐतिहासिक सम्पदाको अवलोकनका लागि मात्र आर्थिक वर्ष २०७९/८० को नौ महिनामा एक लाख १६ हजार आठ सय १२ विदेशी पर्यटकको आगमन भएको छ । चालु आवको चैतसम्म भक्तपुरको अवलोकनमा आउने पर्यटक बढ्दै गएको र यस अवधिमा एक लाखभन्दा बढी पर्यटक आउँदा पर्यटन व्यवसायमा आशा पलाएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताउनुभयो ।

उहाँले भन्नुभयो, “चालु आवको चैतसम्म भक्तपुरमा ६७ हजार सात सय जना गैरसार्क राष्ट्रका र ४९ हजार एक सय १२ जना चीनसहितका सार्क राष्ट्रका पर्यटकको आगमन भएको छ ।”

गत आव २०७८/७९ को सोही अवधिमा भक्तपुर नगर क्षेत्रका सम्पदाको आवलोकनका लागि गैरसार्क राष्ट्रबाट ११ हजार चार सय ४० र सार्क राष्ट्र तथा चीनबाट ११ हजार सात सय २७ गरी कुल २३ हजार एक सय ६७ पर्यटकको आगमन भएको थियो ।

गत आवको समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा गैरसार्क राष्ट्रबाट ५६ हजार दुई सय ६० र चीनसहितका सार्क राष्ट्रबाट ३७ हजार तीन सय ८५ गरी कुल ९३ हजार छ सय ४५ बढी पर्यटकको आगमन भएको छ । यस अवधिमा भक्तपुर नगरपालिकाले गत वर्षको नौ महिनामा भन्दा रु ११ करोड १४ लाख ३१ हजार पाँच सय बढी पर्यटन शुल्क सङ्कलन गरेको छ । रासस