अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले यस वर्षको अन्त्यमा हुने निर्वाचनमा आफू उम्मेदवार नहुने तर अर्जेन्टिनाका समस्या समाधानका लागि सबै प्रयास केन्द्रित गर्ने घोषणा गर्नुभएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एक भिडियोमा फर्नान्डिजले सत्तारुढ फ्रेन्टे डे टोडोसका उम्मेदवारहरूले ‘दक्षिणपन्थीहरू आफ्नो दुःस्वप्न र अन्धकार ल्याउन’ सत्तामा फर्कने छैनन् भन्ने सुनिश्चितता गर्नका लागि आफूले काम गर्ने बताउनुभएको छ ।
फर्नान्डिजले अगष्ट १३ मा हुने निर्वाचनका लागि उम्मेदवार दर्ताको समयसीमा भन्दा लगभग दुई महिना अघि यो निर्णयको घोषणा गर्नुभएको हो ।
सन् २०२३ देखि २०२७ सम्म का लागि अर्जेन्टिनाका नागरिकले राष्ट्रपति र उपराष्ट्रपतिका साथै १३० जना डेपुटी, २४ जना सिनेटर र ४३ जना साउदर्न कमन मार्केटका सदस्यका लागि मतदान गर्ने छन् ।
अप्रिल १९५९ मा जन्मिएका फर्नान्डिज सन् २०१९ को अन्त्यमा सत्तामा आउनुभएको थियो भने यसै वर्षको डिसेम्बरमा उहाँ पदमुक्त हुनुहुनेछ ।रासस
