अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा सडकखण्ड विस्तारको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवा प्रालिविरुद्ध जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा किटानी जाहेरी दर्ता गरिएको छ ।
पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले ठेकेदारको लापर्बाहीले सडक यात्रुको स्वास्थ्यमा खेलवाड भएको तथा यात्राका क्रममा दुर्घटना भई कयौँको अङ्गभङ्ग भएको जनाउँदै ठेकेदारविरुद्ध क्षतिपूर्ति मागसहित शुक्रबार कार्यालयमा उजुरी दिनुभएको हो । उजुरीमा निर्माण सेवा तथा त्यसका सञ्चालक रामकुमार थापाले निर्माणमा ढिलाइ गरेको लापर्बाहीकै कारण धुलिखेल–खावा सडक खण्डमा यात्रु जोखिम मोलेर हिड्न बाध्य भएको, सडकमा उडेको धुँवाले यात्रु बिमारी परेको तथा खाल्डाखुल्डीका कारण सवारीसाधन दुर्घटनामा परेपछि उजुरी दर्ता गरिएको नगर प्रमुख खरेलले बताउनुभयो ।
सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्नतिको काम सक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो । चार किलोमिटर सडकखण्ड विस्तार एवं निर्माण सुरु भएको दश महिना बितिसक्दा दश प्रतिशत मात्रै काम गरी रोकेपछि सडक डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालय तथा जिल्लास्थित जनप्रतिनिधिले कामलाई निरन्तरता दिन गत चैत २९ गतेदेखि सात दिनको म्याद दिइएका थिए ।
निर्माण अलपत्र अवस्थामा रोक्दा उक्त सडकखण्डमा यात्रुले निकै सास्ती खेप्दै आएका हुन् । सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख मेघराज मरासैनीले सडक निर्माण सुरु भएको करिब ५० प्रतिशत समय बितिसक्दा दश प्रतिशत मात्रै काम भएको बताउनुभयो ।
