यही वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुनलागेको उपनिर्वाचनमा हुनसक्ने मानवअधिकार उल्लङ्घनका घटनाको विषयमा अनुगमन सुरु गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरको नेतृत्वमा आएको टोलीले अध्ययन एवम् अनुगमनको काम सुरु गरेको हो ।
अनुगमनका क्रममा आज टोलीले मुख्य निर्वाचन अधिकृतको कार्यालय, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखालगायतका विभिन्न सङ्घसंस्थासँग छलफल गरेको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखामा आयोजित अन्तरक्रिया कार्यक्रममा सदस्य ठाकुरले निर्वाचनको समयमा मानवअधिकार उल्लङ्घनका घटना सबै पक्षबाट हुने भन्दै यसप्रति सचेत रहन आग्रह गर्नुभयो ।
विशेषगरी तीन प्रकारबाट मानवअधिकार उल्लङ्घनका घटना हुने उहाँको भनाइ थियो । मसलको प्रयोग, शक्तिको प्रयोग र आर्थिक प्रयोग गरेर निर्वाचनमा मानवअधिकार उल्लङ्घनका घटना हुने गरेको उहाँको भनाइ थियो ।
पछिल्लो समय सामाजिक सञ्जालमार्फतसमेत मानवअधिकार उल्लङ्घनका घटना भएको भन्दै उहाँले यसलाई नियन्त्रणका लागि मानवअधिकार आयोग मात्रै नभएर निर्वाचन आयोग र जनता स्वयं चनाखो हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सरकार र सरोकारवाला निकायलाई भन्ने हो, खवरदारी गरिरहेका छाँै ।”रासस
