दाङमा बर्सेनि हजारौँ हेक्टर वन डढेलोका कारण खरानी हुने गरेको छ । मानवीय लापरबाहीका कारण वनमा बर्सेनि डढेलो लाग्ने गरेको डिभिजन वन कार्यालय दाङको भनाइ छ ।

हाल पछिल्लो एक सातामा दाङ क्षेत्रमा १८ स्थानमा र देउखुरी क्षेत्रका २५ बढी स्थानमा डढेलो लागिसकेको छ । जसले दाङ क्षेत्रमा तीन सय ३३ हेक्टर र देउखरी क्षेत्रमा एक हजार एक सय बढी हेक्टर वन डढेलोले खरानी भएको भइसकेको छ ।

गत वर्ष दाङमा ६५ स्थानमा डढेलो लागेको थियो । डिभिजन वन कार्यालय घोराही र डिभिजन वन कार्यालय देउखुरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार जिल्लामा गत वर्ष तीन हजार एक सय ७० हेक्टर क्षेत्रमा डढेलो लागेको थियो ।

यो वर्ष वैशाखको पहिलो एक सातामा एक हजार चार सय हेक्टर वन डढेलो लागेर खरानी भएको छ । देउखुरी क्षेत्रमा यो वर्ष वन डढेलो नियन्त्रण बाहिर जान थालेको डिभिजन वन कार्यालय देउखुरीले जनाएको छ ।

एक सातामा अस्वाभाविक रुपमा वन डढेलो बढेको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख राजु क्षेत्रीले जानकारी दिनुभयो । एक सातामा देउखुरी क्षेत्रमा लागेको डढेलो अस्वाभाविक रुपमा बढेको छ ।

“हामीले वन डढेलो नियन्त्रणका लागि जति प्रयास गरे पनि अहिलेको अवस्था हेर्ने हो भने नियन्त्रणभन्दा बाहिर गइसकेको छ”, उहाँले भन्नुभयो, “चुरे क्षेत्रमा रहेका वनमा डढेलोको प्रभाव निकै परेको छ । वन डढेलो नियन्त्रणको प्रयास भइरहेको छ तर रोक्न सकिएको छैन । दिउँसो खासै देखिँदैन, राति कहाँ कुन ठाउँमा लागेको छ, प्रस्टै देखिन्छ ।” रासस