कुनै बेला राप्ती नदी पसेर खेतीयोग्य जमिनलाई कटान गरी बगरमा परिणत गराएको ठाउँ अहिले हरियाली देखिन्छ । त्यहाँ लटरम्म खरबुजा तथा तरकारी फलेका छन् ।

त्यही खेतीबाट उनीहरु लखपति पनि बनिसकेका छन् । बगरे खेतीबाटै लखपति बनेका किसानहरूमा अहिले ठूलो जोस र जाँगर पलाउनाका साथै आफूलाई आर्थिक रुपमा सफल र सबल पनि बनाएका छन् ।

लमही नगरपालिका–४, बलरामपुर भएर बग्ने राप्ती नदीको बगर हो यो । बलरामपुरको दक्षिणतर्फ भएर बगेको राप्तीको उत्तरतिरको बालुवाले भरिएको जमिन अहिले हरियाली भएको छ । हेर्दा बालुवामाथि फलेको देखिने खरबुजाले त्यहाँका ग्राहक मात्र होइन त्यो बाटो भएर हिँड्ने सबैलाई लोभ्याउने गरेको छ ।

यतिखेर टिप्न ठिक्क भएका केही बोट खरबुजा छन् भने केहीमा भर्खरै बतिला लाग्दैछ । बोटमै गएर किन्ने ग्राहकले यसबाट आनन्द महशुस गरेका छन् । उनीहरु आफूहरुले नै टिपेर किन्नका लागि त्यहाँसम्म पुगेको बताउँछन् ।

बलरामपुर गाउँका अरू दुई सय किसान यतिखेर बालुवामा खरबुजा फलाउन व्यस्त छन् । राप्ती नदीले कटान गरेको केही ठाउँमा उनीहरुले बेमौसमी तरकारीको पनि खेती गरेका हुन् । उनीहरुमध्ये केहीले सामूहिक र केही व्यक्तिगत रुपमा खेती गरिरहेका छन् । रासस