धौलागिरि अस्पताल गण्डकी प्रदेश मातहतको ठूलो अस्पताल हो । ५० शय्या क्षमतामा सूचीकृत अस्पतालले हाल एक सय २५ शय्याबाट सुविधा दिइराखेको छ । आवश्यक भौतिक संरचनाको अभावमा अस्पताललाई स्तरोन्नति गरी दुई सय शय्याका बनाउन समस्या भइरहेको छ । अस्पतालको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अनुसार पाँच ब्लकमा भवन आवश्यक भए पनि अहिले ए र बी बाट सेवा दिइराखेको छ । विसं २०७० बाट निर्माण सुरु भएको अस्पतालमा ‘सी’ ब्लक भवन निर्माण भएर हस्तान्तरण नहुँदा अस्पताल स्तरोन्नतिमा समस्या भइरहेको छ ।
पाँच वर्षअघि विभागरहित अस्पतालमा अहिले नयाँ २४ विभागबाट सेवा दिइराख्दा भवन अभाव भइरहेको धौलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिनुभयो । अस्पतालमा मनोपरामर्श सेवादेखि अत्याधुनिक उपकरणको सहायताले शल्यक्रिया हुन्छ ।
प्रदेशको उप–प्रादेशकि अस्पताल बनाउने गरी गण्डकी प्रदेश सरकारले बर्सेनि उपकरणलगायत आवश्यक बजेट विनियोज गर्दै आए पनि स्तरोन्नति गर्न अस्पताल भवन बाधक बनेको उहाँले बताउनुभयो । हालै गण्डकी प्रदेश सरकारले रु १० करोडको सिटिस्क्यान खरिदका लागि बजेट विनियोजन गरे पनि स्थान अभाव भइरहेको छ ।
“दुई सय शय्याको उप–प्रादेशिक अस्पताल बनाउने गरी योजना तथा बजेट निकासा भइरहँदा भवन अभावले स्तरोन्नतिमा समस्या छ, अहिले ५० शय्याको अस्पतालले एक सय २५ शय्यामा सुविधा दिइराखेको छ, दरबन्दी पुरानै हो”, पौडेलले भन्नुभयो, “अस्पतालको ‘सी’ ब्लक हस्तान्तरण भए तत्काललाई समस्याको हट्छ ।”रासस
