श्रीलङ्काले दक्ष कामदारका लागि विभिन्न देशमा आकर्षक रोजगारीका अवसरहरू सुरक्षित गर्न सफल भएको एक मन्त्रीले बुधबार बताउनु भएको छ ।

दक्ष कामदारका रोजगारीका अवसरहरू सुरक्षित गर्न जापान र युरोपमा बालबालिका तथा वृद्धहरूको हेरचाह गर्ने (केयरगिभर), इङ्ग्ल्यान्ड, क्यानडा र अस्ट्रेलियामा आतिथ्यता उद्योगसम्बन्धी रोजगारी र मध्यपूर्वमा निर्माण उद्योगको रोजगारी रहेको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायककाराले बताउनुभयो ।

नानायककाराका अनुसार मार्च महिनामा आप्रवासी कामदारले ५६ करोड अमेरिकी डलर फिर्ता पठाएका थिए भने सरकारले सन् २०२३ को बाँकी अवधिमा मासिक ५० करोड डलर भन्दा बढी रकम प्राप्त गर्ने योजना बनाएको थियो ।

आफ्नो कार्यकक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यो कामको माग पूरा गर्न आवश्यक सीप भएका कामदार पाउन कठिन भएको बताउनुभयो । रोजगारीका अवसर सुरक्षित गर्न आवश्यक दक्ष कामदार उत्पादन गर्नुपर्ने बताउँदै मन्त्री पुनले वैदेशिक रोजगारीमा जाने युवालाई तालीम प्रदान गर्न व्यावसायिक तालीम प्राधिकरणसँग सम्झौता गरिएको जानकारी दिनुभयो ।

श्रीलङ्काको केन्द्रीय बैंकको तथ्याङ्कअनुसार जनवरीमा ४३ करोड ७५ लाख डलर र फेब्रुअरीमा ४० करोड ७४ लाख डलर रेमिटेन्स भित्रिएको छ ।

सन् २०२१ र २०२२ का लागि आधिकारिक तथ्याङ्क क्रमशः ५.४९ अर्ब डलर र ३.८ अर्ब डलर थियो । आप्रवासी कामदारको विप्रेषण श्रीलङ्काका लागि वैदेशिक राजस्वको एक प्रमुख स्रोत हो ।रासस