म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक सात दिनका लागि बन्द गरिएको छ । बेनी नगरपालिका–१ रत्नेचौरको भुवानेदेखि हुलाके खण्डको सडक कालोपत्र गर्नका लागि मङ्गलबारदेखि यही वैशाख १२ गतेसम्मका लागि सडक पूर्ण रुपमा बन्द गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । सवारी साधनको चापका कारण कालोपत्र गर्ने काम प्रभावित बनेपछि आवतजावत रोकेर कालोपत्र सुरु गरिएको पूर्वाधार विकास कार्यालयका प्राविधिक रविन चोखालले जानकारी दिनुभयो ।

“सवारी साधनको चापले सडक कालोपत्रको काम गर्न समस्या भएपछि निर्माण व्यवसायीको अनुरोधमा आवतजावत रोकिएको हो,” उहाँले भन्नुभयो, “बागलुङ–बेनी आवतजावत गर्ने सवारी साधनलाई पर्वतको मालढुङ्गा–बेनी सडक प्रयोगको व्यवस्था मिलाइएको छ ।” यो सडक विस्तार र कालोपत्र गर्न सडक डिभिजन कार्यालय बागलुङले विसं २०७४ साउनमा नागार्जुन देव एन्ड सायर बिएन जेभीसँग रु १३ करोड १५ लाखमा ठेक्का सम्झौता गरेको थियो । विसं २०७५ मा प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीमा हस्तान्तरण भएको यो सडक निर्माण विसं २०७६ मा सक्ने लक्ष्य थियो । ९२ प्रतिशत भौतिक प्रगति भएको सडक निर्माणको काम तीन वर्षपछि सञ्चालन भएको हो । निर्माण कम्पनीका प्रतिनिधि नारायण जिसीले सडकमा कालोपत्रका लागि बेस बिछ्याएर सम्याउने र लोडरले पेल्ने काम सकिएको बताउनुभयो । रासस