सल्यानको बनगाँड कुपिन्डे नगरपालिका वडा नं ८स्थित कुपिन्डे दह अवलोकन गर्न जाने पर्यटकको सङख्या दैनिक बढ्न थालेको छ। अहिले दैनिक सयौँको सङ्ख्यामा यहाँ आउने पर्यटकलाई उक्त दहको वातावरणले लोभ्याउने गरेको छ। चारैतिर वनजङ्गलको बीचमा अवस्थित दह देखेपछि त्यहाँ पुग्ने जो कोही पनि दङ्ग पदैँ रमाउने गर्दछन् ।
एक हप्ताअघि उक्त दहमा भेटिनु भएकी तुलसीपुर उपमहानगरपालिका वडा नं ६ निवासी सुशिला भटृराई त्यहाँको वातावरण देखेर निकै खुसी हुनुभयो ।
उहाँले भन्नुभयो “यति राम्रो प्राकृतिक दृश्य देख्दा पाइएको आनन्दबाट धेरै सन्तुष्टी मिलेको छ। आफ्नी बहिनी र छोराछोरीसँगै पुग्नु भएकी भटृराईले चार घण्टा दह क्षेत्रमा बिताउन पाउँदा जति आनन्दको अनुभूति गर्न पाए त्यहाँको सुन्दरदहे स्वर्गको वर्णन गरेजस्तै देखिने बताउनुभयो ।
“यति कञ्चन दहलाई स्वदेश तथा विदेशमा चिनाउनका लागि प्रचार प्रसार गर्न र नेपालकै प्रमुख पर्यटकीय केन्द्रको रूपमा विकास गराउन सके यसले कर्णाली जिल्लाको सल्यानका साथै आसपास जिल्लाका गाउँको विकासमा समेत टेवा पुग्नसक्ने देखिन्छ,” उहाँले थप्नुभयो, “सल्यान जिल्लाका विभिन्न धार्मिक मठ मन्दिरमा दर्शन तथा पूजा आरधना गर्न गएको समयमा कुपिन्डे दह र त्यहाँको बराह मन्दिरसम्म पुगेकी हुँ। सो दह निकै सुन्दर रहेछ देख्दा निकै मनमोहक लाग्यो ।”
बाँकेको कोहलपुरबाट उक्त दह हेर्नकै लागि साथीहरुसँगै पुग्नु भएकी कालिका रेग्मी पनि यहाँको वातावरण देख्दा निकै खुसी हुनुहुन्थ्यो । उहाँले दहमा ढुङ्गा चढेर जलविहार गर्नाका साथै फोटो खिची टिकटक बनाउन पाउँदा निकै आनन्द भएको बताउनुभयो । अहिले गर्मीको समयमा चारैतिर जङ्गल र सोही जङ्गको बीचमा यति ठूलो र निलो देखिने दह देख्दा यात्राको थकान मेटिनाका साथै शीतलताको अनुभूति भएको उहाँको भनाइ थियो । रासस