उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरूले भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा आज भएको भेटमा उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले नेपाल अतिकम विकसित राष्ट्रको सूचीबाट सन् २०२६ मा विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुने प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

सो सम्बन्धमा संयुक्त राष्ट्रसङ्घबाट भएको समन्वय तथा सहकार्यका लागि धन्यवाद दिँदै उहाँले दिगो विकासमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको आफ्नै मौलिक चुनौतीहरू रहेको र उक्त चुनौतीलाई सम्बोधन गर्दै स्तरोन्नति हासिल गर्नका लागि नेपालले आवश्यक तयारी गरिरहेको पनि जानकारी दिनुभयो ।

संयुक्त राष्ट्रसङ्घको एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगका कार्यकारी सचिव अर्मिदा सल्सिह अलिस्जाहबानाको नेतृत्वको प्रतनिधिमण्डलबाट संरचनात्मक रुपान्तरण जरुरी हुने भएकाले नेपालले कृषि, नवीकरणीय ऊर्जाको निर्यातमा विविधिकरण, दिगो पर्यटन, व्यापार सहजीकरण र दिगो लगानीमा जोड दिनुपर्ने तथा विपद् व्यवस्थापनका लागि मातहतका निकायहरूलाई उचित माग निर्देशन गर्नुपर्ने कुरामा जोड दिइएको थियो ।

जवाफमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल विपद्को सम्बन्धमा जोखिमयुक्त मुलुक रहेकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा संवेदनशील रहेको जानकारी गराउनुभयो । विपद्लाई सम्रग रूपमा बुझी सोहीअनुरुप व्यवस्थापन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रधिकरणलाई निर्देशन दिइसकेको उहाँको भनाइ थियो । रासस