नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो पावरद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृहमा पानी खसाल्ने ठाडो सुरुङ जडानभएको छ ।
रघुगङ्गा गाउँपालिका–३ पिप्लेबाट तिल्केनी चौरमा निर्माणाधिन विद्युत्गृहमा पानी खसाल्ने ठाडो सुरुङ सोमबार जोडिएको हो । आयोजनाका व्यवस्थापक राजबहादुर बिष्टले एक सय ९६ मिटर ठाडो सुरुङ जोडिएको जानकारी दिनुभयो ।
“विद्युत्गृह निर्माण स्थलबाट भर्टिकल प्रेसर साफ्टसँग जोड्ने तीन सय २९ मिटर वटम प्रेसर साफ्टको सुरुङ यसअघिनै जोडिएको थियो,” उहाँले भन्नुभयो “सबैभन्दा कठिन मानिएको ‘भर्टिकल प्रेसर साफ्ट’ को पनि आज ‘ब्रेक थु्रु’ भएको छ ।”
सिभिल ठेकेदार जयप्रकाश एसोसियट्सले सहायक ठेकेदार बाबरी र बाराही मण्डली कन्ट्रक्सनलाई भर्टिकल प्रेसर साफ्ट निर्माणको जिम्मा दिएको थियो । अडिट नम्बर ३ देखि भर्टिकल प्रेसर साफ्टसम्मको पाँच सय ४१ मिटरमध्ये तीन सय ७० मिटर सुरुङ निर्माण सकिएको छ । पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ ।
छ हजार दुई सय ७० मिटर लामो सुरुङमध्ये हालसम्म चार हजार तीन सय ३४ मिटर निर्माण सकिएको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताउनुभयो । आयोजनाको समग्रमा भौतिक प्रगति ५५ प्रतिशत छ ।
भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)सँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो ।रासस