अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार र निजी क्षेत्र एक आपसमा मिलेर काम गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिन अर्थमन्त्रालयमा आज आयोजित कार्यक्रममा उहाँले अर्थतन्त्रलाई सुधार्न निजी क्षेत्रसँग समन्वय गर्न तयार रहेको बताउनुभयो ।

“वर्तमान समयमा निजी उद्योगी व्यवसायीमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस भए पनि केही नहुने अवस्थामा हामी पुगिसकेका छैनौंँ । केही अप्ठ्यारा र व्यवधान छन्, सरकार र निजी क्षेत्र मिलेर यी अप्ठ्यारा र व्यवधान हटाउनुपर्छ”, अर्थमन्त्री डा महतले भन्नुभयो । उहाँले महासङ्घको नेतृत्व बैंकर्सको हातमा पुगेको भन्दै देशको अर्थ व्यवस्थाबारे जानकार व्यक्तिले नै समाधानको पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

“अहिले देखा परेको अप्ठ्यारोमा एकअर्कालाई सहयोग गरौँ । सहज अवस्थामा कसैलाई कसैको सहयोगको आवश्यकता पर्दैन तर अप्ठ्यारो समयमै सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

मन्त्री महतले सरकारले जसरी काम गर्नुपर्ने हो, त्यसरी काम हुन नसकेको बताउनुभयो । “अहिलेको अवस्था राजनीतितन्त्रदेखि प्रशासनले स्वीकार गर्नुपर्छ । म स्वीकार गर्न तयार छु । सबै कुरामा हामीले सुधार ल्याउनुपर्छ । देशको इफिसेन्सी बढाउने चुनौती छ”, डा महतले भन्नुभयो, “हामीले नीतिगत रुपमा धेरै कुरा भनेका छौँं, तर त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सकिएको छैन ।”रासस