लामो समयसम्म कोरोना महामारीको असर र ‘ओटीटी’मा बढ्दो प्रयोगकर्ताको सङ्ख्याले दर्शक सिनेमा घरसम्म आउँदैनन कि भन्ने शङ्कालाई तोड्दै वर्ष २०७९ मा केही चलचित्रका लागि दर्शक उम्लिएर सिनेमा घरसम्म पुगे । यद्यपि केही चलचित्रको हकमा भने टिकट बिक्री शून्य जस्तै भयो ।
गत वर्ष कुनै सिनेमाका लागि पाँच वटा मात्रै टिकट बिक्री भए भने राम्रो कमाएको भनिएको चलचित्रको हकमा साढे सात लाखभन्दा बढी टिकट बिक्री भए । वर्षको सुरुआत भने सुखद् रह्यो । वर्षको पहिलो दिन प्रदर्शनमा आएको ‘ए मेरो हजुर ४’ले सिनेमा घरसम्म दर्शक तानेपछि अन्य चलचित्रकर्मीमा उत्साह भरियो र निर्माण सम्पन्न भइ तयारी अवस्थामा रहेका चलचित्र धमाधम प्रदर्शनमा आउन थाले ।
वर्ष २०७९ मा प्रदर्शनमा आएका केही चलचित्रले सीमक्षक र दर्शक दुबैबाट राम्रो प्रतिक्रिया पाए । केहीले एकबाट मात्रै राम्रो प्रतिक्रिया पाए भने केही चलचित्र कतै पनि चलेनन् । ती चलचित्र बन्न त बने तर दर्शकले नै थाहा पाएनन् । केही चलचित्रले राम्रो प्रतिक्रिया पाए पनि व्यापारमा असफल भए भने व्यापार राम्रो गरेका केही चलचित्रले प्रतिक्रिया राम्रो पाएनन् ।
यसैमध्येको एक चलचित्र हो, ‘षडकोण’ । गत वैशाखमा रिलिज भएको यो चलचित्रबाट राम्रो व्यापार गर्न अपेक्षा गरिए पनि त्यसो हुन सकेन । कर्मा, भोलाराज सापकोटालगायत कलाकारले अभिनय गर्नुभएको यस चलचित्रले जम्मा पाँच सय ४८ टिकट बिक्री गर्न सक्यो ।
वैशाखमै प्रदर्शन भएको चलचित्र ‘लक्का जवान’ पनि असफल भयो । हास्य कलाकार एकबद्ध भई बनाएको यो चलचित्रको नौ हजार ८ सय ७५ टिकट बिक्री जम्मा रु २६ लाख १५ हजार एक सय ७६ ग्रस आम्दानी ग¥यो । किरण केसी निर्माता रहनुभएको चलचित्रमार्फत शिवहरि पौडेल निर्देशक बन्नुभयो । हास्य कलाकारको समूह बन्ने र सफल हुने सिलसिलामा यसले भने सफलता पाएन ।
प्रदर्शन अगाडि चर्चामा रहेको चलचित्र हो, ‘चिसो मान्छे’ । तर चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल लगायतको अभिनय छ । विदेशबाट आएको श्रीमान्को शव बुझेर काठमाडौँबाट बाजुरासम्म यात्रा गर्ने कथा देखाइएको चलचित्रलाई दीपेन्द्र कुमार खनालले निर्देशन गर्नुभएको छ । कलाकार र निर्माण समूहको कारण चर्चामा रहेको चलचित्रले समीक्षकमार्फत मिश्रित प्रतिक्रिया पाएको थियो । तर अपेक्षितरुपमा दर्शक तान्न भने सकेन । चलचित्र हेर्नका लागि ३२ हजार ८७ टिकट बिक्री भएबापत रु ९६ लाख १७ हजार तीन सय १० मात्रै आम्दानी भयो ।
अभिनेता खगेन्द्र लामिछाने निर्देशक रहेको चलचित्र ‘पानीफोटो’उठान गरिएको विषयवस्तुका कारण प्रदर्शन अघि चर्चामा थियो । टलकजङ्ग भर्सेस टुल्के, पशुपतिप्रसाद जस्ता चलचित्रका अभिनेता लामिछानेले निर्देशक बनेर माओवादी द्वन्द्वको समयमा बेपत्ता भएको छोराको पर्खाइँमा बसेको बा–आमाको कथालाई पर्दामा ल्याउनु भएको छ । गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’कै अनुरुपण गरिएको चलचित्रमा अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ, अजस्र ढुङ्गाना जस्ता रङ्गमञ्चमा माझिएका कलाकार हुनुहुन्छ । यद्यपि यसको व्यापार न्यून भयो । चलचित्रको आठ हजार तीन सय ३१ टिकट बिक्री भएबापत रु २४ लाख ८२ हजार छ सय १२ को व्यापार भयो ।रासस