बागलुङको काठेखोला गाउँपालिकाको एउटै वडामा दुई सङ्ग्रहालय निर्माण भइरहेका छन् । जनजातिको बाहुल्यता रहेको काठेखोला–४ तङ्ग्राममा एकसाथ सांस्कृतिक सङ्ग्रहालय र जनजाति सङ्ग्रहालय निर्माण भइरहेका छन् ।

लोपन्मुख विश्वका मुख्य बाजा सङ्ग्रह गर्ने उद्देश्यले स्थापना गरिएको जिमाक संस्थाको अगुवाइमा अहिले सांस्कृतिक सङ्ग्रहालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

यस्तै गाउँपालिकाको अगुवाइमा जनजाति सङ्ग्रहालय निर्माण भइरहेको छ । तङ्ग्राममा रहेका जनजातिले आफ्नो पहिचान, भाषा, वेशभूषा र संस्कृतिलाई सङ्ग्रहित गर्न जनजाति सङ्ग्रहालय निर्माण थालिएको हो । गाउँपालिकाले एक वडा एक गौरवको योजनाअन्तर्गत झन्डै रु ६० लाख जति सङ्ग्रहालयमा लगानी भइसकेको छ ।

यस्तै लोपन्मुख बाजालाई संरक्षित गर्न अहिले सांस्कृतिक सङ्ग्रहालयको कामसमेत अन्तिम चरणमा पुगेको छ । सांस्कृतिक सङ्ग्रहालयमा व्यक्तिगत सहयोग तथा गण्डकी प्रदेश सरकारको गरी रु एक करोड ५० लाख लगानी भइसकेको छ । तङ्ग्राममा दुई सङ्ग्रहालय निर्माणपश्चात् आन्तरिक तथा बाह्य पर्यटकसमेत भित्र्याउने गाउँपालिकाको विश्वास छ ।

जिमाक सांस्कृतिक सङ्ग्रहालयमा विश्वभर रहेका विभिन्न देशका प्रमुख बाजासँगै नेपालका सबै लोकबाजाको सङ्ग्रह गरिने संस्थापक संरक्षक हेमराज आश्रमले जानकारी दिनुभयो । “सांस्कृतिक सङ्ग्रहालयमा विभिन्न देशका मुख्य बाजा सङ्ग्रह गरिनेछ, नेपालका लोकबाजा यहाँ देख्न पाइन्छ”, आश्रमले भन्नुभयो, “सङ्ग्रहालयले लोकबाजाको पहिचान दिलाउँदै लोकबाजाको अध्ययन तथा अनुसन्धानस्थलका रुपमा समेत सङ्ग्रहालय देखिएको छ ।”रासस