कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरीले खेत जोत्न राँगा, गोरुको प्रयोग गर्न छाड्नुभएको पाँच वर्ष भइसक्यो । खेत जोत्न उहाँ अचेल ‘पावर टिलर’को प्रयोग गर्नुहुन्छ । उहाँको यहाँ साढे चार बिगाहा जमिन छ । वर्षौंदेखि उहाँले तरकारी, उखु, गहुँ तथा धान खेती गर्दै आउनुभएकामा अहिले कृषि उपकरणको प्रयोग गरेर खेती गर्नुहुन्छ ।

“अगाडि राँगाले खेत जोत्थे, अहिले पावर टिलर छ, खेतीपाती गर्न प्रविधिको प्रयोग बढेसँगै काम गर्न धेरै सजिलो भएको छ”, उहाँले भन्नुभयो । प्रविधिको प्रयोगले आफूलाई मात्र नभए धेरै कृषकलाई सहज भएको चौधरीको भनाइ थियो ।

कुरेरुवा कृषक समूहमा आबद्ध उहाँले कृषि ज्ञान केन्द्रको अनुदानमा कृषियन्त्र खरिद गर्नुभएको हो । यहाँका किसानसँग अहिले बालीनाली काट्नका लागि रिपर, रोपाइँ गर्न हिलो चक्का, जोत्नलाई पावर टिलरलगायतका उपकरण छन् । “धान, गहुँ काट्न, खेत जोत्न, रोपाइँ गर्न उपकरणको प्रयोग गर्छौं”, उहाँले भन्नुभयो, “कृषिमा परम्परागत शैली विस्थापित भएर नयाँ प्रविधि भित्रिएको छ ।”

शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी अनिला चौधरीले पनि केही वर्षयता खेतीपातीमा प्रविधिको प्रयोग गर्न थाल्नुभएको छ । “कम समयमै सहजै खेतीपाती गर्न सकिन्छ, अहिले गाउँमा अधिकांश किसानले कृषियन्त्रको प्रयोग गरेर खेतीपाती गर्छन्”, उहाँले भन्नुभयो, “यसले समयको बचत गर्नुका साथै उत्पादन पनि बढेको छ ।”रासस