केही दिनयतादेखि डढेलोका कारण काठमाडौँसहित देशभर वायु प्रदूषण बढ्दै गएको छ । काठमाडाँै उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने जनाइएको छ ।
प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने गरी हावा नचल्ने र पानी पर्ने पनि सम्भावना नरहेकाले प्रदूषण अझै केही दिन स्थिर रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही ठाउँमा लामो समयदेखि पानी नपरेको र धेरै ठाउँमा डढेलो लागेकाले वायु प्रदूषण उच्च भएको महाशाखाको भनाइ छ ।
वातावरण विभागका प्रवक्ता शङ्करप्रसाद पौडेलले डढेलोबाट निस्किएको धुवाँसँगै पानी नपर्नु र हावा कम चल्नाले प्रदूषण सतह नजिक थुप्रिएको बताउनुभयो । उहाँले स्याटेलाइट तस्बिर हेर्दा काठमाडाँै उपत्यकामा बारा, पर्सा र चितवनबाट निस्किएको धुवाँका कारण प्रदूषण बढेको जानकारी दिनुभयो । बारा, पर्सा र चितवनबाट बागमती कोरिडोर हुँदै काठमाडाँैमा आएको हावा अन्यत्र बहन नसक्दा काठमाडाँै उपत्यकामा प्रदूषणको मात्रा बढेको हो ।
प्रदूषणबाट जोगिन सावधानी अपनाउन तथा वायु प्रदूषण बढिरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै परे मास्क र चस्माको अनिवार्य प्रयोग गर्न विभागले आग्रह गरेको छ । जलवायु तथा विपद्विज्ञ डा धर्म उप्रेतीले सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने र अत्यावश्यक काम नभई घरबाट बाहिर निस्कन नहुने बताउनुभयो । उहाँले प्रदूषण हट्न अझै केही दिन लाग्ने पनि बताउनुभयो । रासस
