विश्व हेमोफिलिया दिवसका अवसरमा नेपाल हेमोफिलिया समाजले विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।
विश्व हेमोफिलिया दिवसको यस वर्षको नारा ‘सबैका लागि पहुँचः रक्तस्राव रोकथाम विश्व हेरचाहको मापदण्ड’ रहेको छ । विसं २०७८ मा राष्ट्रिय जनगणनामा हेमोफिलियाका व्यक्तिको सङ्ख्या चार हजार नौ सय ३७ जना रहेको देखाएको थियो । नेपाल हेमोफिलिया समाजका आठ सय १४ जना आबद्ध छन् ।
समाजका अध्यक्ष मुकुन्दमणि घिमिरेले भन्नुभयो, “हामीसँग सम्पर्कमा रहनुभएका आठ सय १४ बाहेक अन्य को कहाँ कस्तो अवस्थामा छन्, खोजी कार्य तत्काल हुनुपर्छ, रक्तस्रावको समयमा रोकथाम उपचार नभए उहाँहरुको ज्यान जोखिम बढेर जान्छ ।”
विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रतिपाँच हजार पुरुषको जन्ममा एकजना हेमोफिलियायुक्त व्यक्ति जन्मन्छन् । चिकित्सकका अनुसार वंशाणुगत वा अन्य कारणले पनि हेमोफिलिया देखा पर्नसक्छ । रगत जमाउन आवश्यक तत्व क्लटिङ फ्याक्टरको कमीका कारण लामो समयसम्म रक्तस्राव भइरहने अवस्थालाई हेमोफिलिया भनिन्छ ।
चिकित्सकका अनुसार हेमोफिलिया दुई प्रकार ‘ए’ र ‘बी’ हुने गर्दछ । हेमोफिलिया ‘ए’ क्लटिङ फ्याक्टर आठको कमीले र हेमोफिलिया ‘बी’ क्लटिङ फ्याक्टर नौको कमीले हुनेगर्छ । हेमोफिलियाको वर्गीकरणअनुसार माइल्ड, मोडोरेट र सिभिएर हेमोफिलिया हुन्छ ।रासस
