राष्ट्रीयता मानवता र विश्वबन्धुत्वको विकासका लागि सनातन धर्म, संस्कार र आर्य संस्कृतिको संरक्षण, संवर्द्धन तथा संस्कृत शिक्षाको आवश्यकतालाई मध्यनजर गरी संस्कृत ज्ञानविज्ञानको प्रचारप्रसार गर्ने उद्देश्यले तनहुँको देवघाटधाममा गुरुकुल सञ्चालित छन् ।
वटुकलाई सनातन धर्म, संस्कार र संस्कृतिका बारेमा ज्ञान दिने उद्देश्यले यहाँ सातवटा गुरुकुल सञ्चालित छन् । यहाँका सबै गुरुकुल दाताको सहयोग र मुठ्ठीदानको भरमा छन् । देवघाटधाममा नानीका लागि तीन र बाबुका लागि चार गुरुकुल छन् । यहाँ तनहुँ, चितवन र नवलपुरका बटुक अध्ययनरत छन् ।
तनहुँमा वटुकका लागि महेश सन्यास आश्रमद्वारा सञ्चालित मेहश संस्कृत गुरुकुल, गलेश्वर आश्रमले सञ्चालन गरेको वेदवेदाङ्ग संस्कृत गुरुकुल, हरिहर आश्रमले सञ्चालन गरेको परमानन्द संस्कृत गुरुकुल र माताजीले सञ्चालन गरेको माँ कल्याणी गुरुकुल छन् ।
गुरुकुलमा करिब सात सय वटुक अध्ययनरत रहेको महेश सन्यास आश्रमका व्यवस्थापक सन्तोष गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक गुरुकुलमा करिब दुई सय २५ देखि ७५ सम्म वटुक अध्ययनरत छन् । “नानीका लागि सञ्चालित गुरुकुलमा करिब ५० बटुक छन्, नानीहरूको गुरुकुलमा कक्षा ८ सम्म अध्ययन हुन्छ, कक्षा वृद्धि गर्दै लैजाने गरी सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो । महेश गुरुकुलमा शास्त्री र आचार्य ९स्नातक र स्नातकोत्तर०, परमानन्द गुरुकुलमा शास्त्रीसम्म अध्यापन भइरहेकामा आचार्यसम्मको पठनपाठन सुरुआत गर्ने तयारी भइरहेको गरेको उहाँले बताउनुभयो । रासस
