पहिरोका कारण चिराचिरा परेको तोराखेत गाउँमा वस्छन् ३२ घरका डेढ सय परिवार ।म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली तोराखेत गाउँ पहिरोको चपेटामा परेको २० वर्ष भयो । दुई दशकको अवधिमा गाउँबाट ६० भन्दा बढी व्यक्तिले बसाइँसराइ गरे पनि ७३ वर्षीय भक्तबहादुर सापकोटाले भने गाउँ छोडेर अन्यत्र बसाइँ सर्न मान्नुभएन । गाउँमा रहेका उहाँसहित ३२ घर परिवारलाई बर्खा नलाग्दै पहिरोको चिन्ताले सताउने गरेको छ ।

विसं २०५८ देखि खस्न सुरु गरेको यो पहिराले बर्सेनि उग्ररूप लिँदै गएकाले स्थानीय सरकारको बजेटले पहिरो नियन्त्रण गर्नै नसकिने अवस्थामा पुगेको सरोकारवालले बताए । पहिरो नियन्त्रणका लागि पहल हुँदा बेनी नगरपालिका–३ तोराखेत र बेनी नगरपालिका–२ बगरफाँटका ६० भन्दा बढी घर उच्च जोखिममा परेकाले पछिल्लो दुई वर्षमा तोराखेतका १७ र बगरफाँटमा चार घर परिवार विस्थापित भए ।

विसं २०७२ को भूकम्पले जमिनको सतह खल्बल्याएकाले उक्त पहिरो थप जोखिमपूर्ण बनेको स्थानीय अगुवा दिलबहादुर सापकोटाले बताउनुभयो । तोराखेतको करिब एक किलोमिटर क्षेत्रफल ओगटेको चट्टानयुक्त जमिनका दर्जनभन्दा बढी ठाउँमा ठाडो चिरा परेको छ ।

माथिबाट पहिरो आउने र घरजग्गा रहेको जमिन तलतर्फ भासिने क्रम बढेपछि तोराखेतको पहिरो वरपरको क्षेत्रमा बसोबास गर्ने १७ घर परिवारलाई स्थानान्तरण गरी ज्यामरूककोटको भकुण्डे, फापरखेत र बगरफाँटमा राखिएको बेनीनगरपालिका–२ ज्यामरूककोटका वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।रासस