पर्यटकीय नगरी पोखराको फेवातालको बीचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरको पुनःनिर्माण प्रक्रिया थालिएको छ । धार्मिक गन्तव्यका रूपमा स्थापित तालबाराहीको पुरानो मन्दिर भत्काइएको छ । विसं २०७२ को भूकम्पबाट क्षति पुगेपछि पुनःनिर्माण गर्नुपर्ने अवस्था आएको हो ।

पुरानो मन्दिर भत्काएसँगै अर्को चाँदीको मूर्तिमा प्राणप्रतिष्ठा गरी नजिकैको हवनकुण्ड रहेको स्थानमा पूजाआजाका लागि व्यवस्था मिलाइएको छ । पुरानो मन्दिर भत्काइए पनि बारही देवीको दर्शन गर्न दैनिक ठूलो सङ्ख्यामा दर्शनार्थी मन्दिर पुग्ने गरेका छन् । ढल्किएको मन्दिर पुनःनिर्माणका लागि वाराही मन्दिर व्यवस्थापन समिति र पुरातत्व विभागले काम अघि बढाएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिनुभयो ।

भूकम्पकै कारण मन्दिर नजिकै रहेका दुई गोदाम कोठाको दक्षिणतर्फको भाग दबेपछि केही वर्ष पहिले नै ती कोठा भत्काएर हटाइएको थियो । हाल भत्काइएको मन्दिर २०१७ सालमा तत्कालीन राजा महेन्द्र शाहले अहिलेको स्वरूपमा निर्माण गर्नुभएको थियो । पुरातत्व विभागको प्रत्यक्ष संलग्नतामा मन्दिर पुनःनिर्माण गर्न लागिएको र यसका लागि रु एक करोड ४० लाख लाग्ने बताइएको छ । पुरानै शैलीमा कालीगढ मगाएर मन्दिर पुनःनिर्माण गर्न लागिएको अध्यक्ष कुँवरले जानकारी दिनुभयो । मन्दिर पुनःनिर्माण गर्न पुरातत्व विभागले रु २५ लाख र मन्दिर व्यवस्थापन समितिले रु एक करोड १५ लाख जुटाउने सम्झौता छ ।रासस