मुलुक सङ्घीय संरचनामा गएर विकास निर्माणका योजना गाउँगाउँमा भित्रिँदासमेत बसाइँसराइ बढ्दो क्रममा देखिएको छ । स्थानीय तह कार्यान्वयनमा आएसँगै जिल्लाको ग्रामीण भेगमा भौतिक पूर्वाधारको विकासले गति लिन थालेका छन् । सडक, पदमार्ग, सिँचाइ, खानेपानी, विद्यालय भवन, स्वास्थ्य चौकीलगायतका पूर्वाधार निर्माण हुने क्रम बढ्दो छ । एक नगरपालिकासहित पाँच गाउँपालिका रहेको म्याग्दीमा पाँच गाउँपालिकाको केन्द्र नयाँ बजार विस्तारको चरणमा पुगिसकेका छन् ।
जिल्लामा भौतिकपूर्वाधारको विकास हुने क्रम बढिरहेको सन्दर्भमा जिल्लाबाट अन्यत्र बसाइँसराइ गर्ने क्रम बढ्दो छ । जिल्लाभित्रका पाँच गाउँपालिकाबाट सदरमुकामसमेत रहेको बेनी बजारमा थोरै मात्रामा बसाइँसराइ गर्ने गरेका छन् भने समग्र जिल्लाबाट पोखरा, काठमाडौँ, बुटवल, चितवनलगायत क्षेत्रमा बसाइँसराइ गर्ने गरेको पाइएको छ । जिल्ला सदरमुकाम बेनीबजारस्थित रहेको बेनी नगरपालिकामा आन्तरिकरूपमा जिल्लाका अन्य स्थानीय तहबाट बसाइँसराइ गरी आउनेभन्दा यहाँबाट जिल्ला बाहिर बसाइँसराइ गर्नेको सङख्या बढी देखिएको छ ।
आव २०७८÷७९ मा बेनी नगरपालिकामा तीन सय ११ सदस्य बसाइँसराइ गरी आएका थिए भने यस नगरपालिकाबाट चार सय ४२ सदस्य यहाँबाट बसाइँसराइ गरी अन्यत्र गएको पाइएको छ । नगरपालिकाको पञ्जीकरण शाखाका अनुसार चालु आवको चैत तेस्रो सातासम्म बेनी नगरपालिकामा एक सय ३२ सदस्य बसाइँसराइ गरी आएका छन् भने यहाँबाट दुई सय ४२ सदस्य बाहिरिएका छन् । जिल्ला सदरमुकाम बेनी रहेको बेनी नगरपालिकामा जिल्लाका पाँचवटै गाउँपालिकामा बसाइसराइको दर उच्च छ । वैदेशिक रोजगारका कारण युवायुवती विदेश पलायन हुने क्रमसँगै गाउँका स्थानीय सुविधा खोज्दै बजारतर्फ बसाइँसराइ गर्ने प्रचलन छ । रासस