नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपालबाट भएको बताउनुभएको छ ।

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ शोका लागि विश्वका ५२ भन्दा बढी देशबाट छानिएर फाइनलका लागि आएका नेपालीभाषी प्रतिभासँग आज आफ्नो निवास बालकोटामा अन्तरक्रियाका क्रममा उहाँले भन्नुभयो, “गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपाली भूमिमा भएको हो, गीत, सङ्गीत कला, सम्पदा आदिमा हाम्रो इतिहास सत्ययुगदेखिकै हो ।”

उहाँले भन्नुभयो, “हामीले सुनेका, देखेका छौँ ताण्डव नृत्य, शिव नृत्य आदि । ती नृत्यको इतिहास कति पुरानो छ ? यो सत्ययुगकै कुरा होइन ? त्यसैले हामी गीत, सङ्गीत, कला, संस्कृति एवं सम्पदामा संसारका अरु कुनै देशभन्दा अगाडि छौँ, हाम्रो इतिहास सबैभन्दा पुरानो छ ।”

एमाले अध्यक्ष ओलीले गीत सङ्गीत मात्र नभएर ज्ञान र शिक्षाको उद्गमस्थल पनि नेपाल नै भएको धारणा राख्नुभयो । उहाँले ज्ञान, शिक्षा, सम्पदा तथा वैदिक परम्परामा हामी विश्वमै अरु देशभन्दा अघि रहेका उदाहरण पनि प्रस्तुत गर्नुभयो ।रासस