कोशी प्रदेशको पक्षमा मतदान गर्ने खोटाङ प्रदेशसभा–१ बाट निर्वाचित प्रदेशसभा सदस्य पाँचकर्ण राई ‘पिके’विरुद्ध प्रदर्शन गर्ने चार युवा पक्राउ परेका छन् । कोशी प्रदेश नामकरणका पक्षमा मतदान गरेको भन्दै नेकपा (एमाले)बाट निर्वाचित प्रदेशसभा सदस्य राईविरुद्ध आज दिक्तेलमा प्रदर्शनमा उत्रिएका किराँत राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किराँत, सहकोषाध्यक्ष डार्विन राई, यायोक्खा दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटीका पूर्वउपाध्यक्ष सप्तमणि राई र जनता समाजवादी पार्टी (जसपा) खोटाङका सचिव सुनिल चाम्लिङ पक्राउ परेका हुन् ।

जिल्ला समन्वय समिति खोटाङको सातौँ जिल्लासभा सञ्चालन भइरहेकको समयमा किराँत राई यायोक्खाका अध्यक्ष किराँतले कार्यक्रम सञ्चालकसँग समय मागेर आफ्नो धारणा राखेपछि नाराबाजी गर्दै कालो झन्डा देखाइएको थियो । विरोधमा उत्रिएका समूहले प्रदेशसभा सदस्य राईलाई कालोमोसो दल्ने प्रयाससमेत गरेका थिए ।

यायोक्खाका अध्यक्ष किराँतबाहेक अन्य तीन जनालाई भने हत्कडी लगाएर जिल्ला प्रहरी कार्यालय लगिएको थियो । कोशी प्रदेशको नाममा मतदान गर्ने सांसद तथा मन्त्रीलाई जिल्ला प्रवेश नगर्न आह्वान गरिएको तर, त्यसविपरीत गरिएकाले विरोध गरिएको यायोक्खाका अध्यक्ष किराँतले बताएका छन् ।

विरोधमा उत्रिएका समूहले नेपाली कांग्रेस प्रदेश महामन्त्री एवं प्रदेशसभा सदस्य खोटाङ क्षेत्र नं २ (१)बाट निर्वाचित प्रदेश सांसद भूपेन्द्र राईविरुद्ध पनि नाराबाजी गरेका थिए । कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवं प्रतिनिधिसभा सांसद रामकुमार राई ‘पासाङ’प्रमुख अतिथि रहनुभएको थियो ।रासस