काभ्रेपलाञ्चोकमा आज कोभिडको नयाँ भेरियन्ट एक्सबीबी १.१६ को थप १४ मा सङ्क्रमण देखिएको छ ।
बितेको एक हप्तामा नयाँ भेरियन्टको ११ सङ्क्रमित रहेका थिए । करिब तीन महिनापछि जिल्लामा पाइएको सङ्क्रमण पाँच महिलासहित २५ रहेको जनाइएको छ । जिल्ला स्वाथ्य कार्यालय धुलिखेलका अनुसार आज सङ्क्रमण पुष्टि भएकोमा बनेपा नगरपालिकाका दुई, धुलिखेलका दुई, पाँचखालका एक, पनौतीका सात तथा बेथानचोक र भुम्लु गाउँपालिकाको एक÷एक रहेका छन् ।
काभ्रेपलाञ्चोकमा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएका सबैमा कोभिडको नयाँ भेरियन्ट एक्सबीबी १.१६ पुष्टि भएको कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाइले बताउनुभयो । सेढाइका अनुसार नमोबुद्ध नगरस्थित मेथिनकोट अस्पताल रुघाखोकी र ज्वरो आएर उपचारका लागि आएका बिरामीमा गरिएको परीक्षणमा नयाँ भेरियन्ट पुष्टि भएको हो । “नयाँ भेरियन्ट परीक्षण गराउन खर्चिलो भएकाले थप बिरामीलाई कोभिड नेगेटिभ र पोजेटिभ मात्रै परीक्षण गर्न थालेका छौँ”, सेढाइले भन्नुभयो । उहाँका अनुसार आज पुष्टि भएका सबैको लक्ष्यण एउटै भएकाले नयाँ भेरियन्टकै सङ्क्रमित हुन् ।
यसअघि सङ्क्रमण पुष्टि भएका ११ मध्ये बनेपाका पाँच, पनौतिका चार र नमोबुद्धका दुई थिए । सङ्क्रमितहरू सबै होम आइशोलेसनमै उपचाररत रहेका छन् । स्वास्थ्य कार्यालयले स्थानीय सरकार तथा स्वास्थ्य कार्यालयले ‘ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्ट’ लाई प्राथमिकता राखेर अभियान सुरु गरेको जनाएको छ ।रासस
