खेतीपातीको समयमा मलको अभाव हुँदा धेरै किसान चिन्तित बनिरहेका बेला झापाका किसानले जनस्तरबाटै रासायनिक मलको विकल्प खोज्दै जैविक मल बनाउने अभियान सुरु गरेका छन् । झापामा ‘वेस्ट डिकम्पोजर’ प्रविधिबाट जैविक मल बनाउने अभियान लोकप्रिय बन्दै गएको छ ।
रासायनिक मलमा मुलुक पूर्णरुपमा परनिर्भर हुनुपर्दा किसानले चाहिएका बेला चाहिए जति मल कहिल्यै पाउन सकेका छैनन् । किसानलाई आवश्यक रासायनिक मल उपलब्ध गराउन नसकिने अवस्था हरेक सरकारको असफलताको मापन बन्ने गरेको छ । तर, प्रयास गर्ने हो भने मुलुकमै रासायनिक मलको खपत घटाएर जैविक मलमा आत्मनिर्भर बन्न सकिने सम्भावनालाई झापाका किसानले उजागर गरेका छन् ।
रासायनिक मलको प्रयोग न्यूनीकरण गर्न, माटोको उर्वरा शक्ति प्राकृतिक माध्यमबाटै वृद्धि गर्न र कृषि उत्पादनलाई विषादीमुक्त बनाउन भारतका कृषि वैज्ञानिक डा कृष्णचन्द्रले अनुसन्धानमार्फत प्रयोगमा ल्याएको ‘वेस्ट डिकम्पोजर’ प्रविधिलाई अनुकरण गर्दै अभियानका रुपमा प्रयोगमा ल्याइएको सुनगाभा अर्गानिक कृषि फार्मका सञ्चालक भीम कुँवर बताउनुहुन्छ ।
“रासायनिक मलको विकल्प खोज्न ढिला भइसक्यो, आफ्नै स्रोत र साधनमा आधारित जैविक मल बनाउन सरकारले पनि प्रोत्साहित गर्नुपर्छ”, जैविक मल बनाउने र प्रयोगमा ल्याउने अभियानमा समर्पित कुँवर भन्नुहुन्छ, “वेस्ट डिकम्पोजर यस्तो विधि हो जसलाई प्रयोगमा ल्याउँदा हाम्रो मुलुकमा एकातिर अग्र्यानिक कृषि क्रान्ति हुन्छ भने रासायनिक मलका नाममा बर्सेनि विदेशिने अर्बौं रुपैयाँ जोगिन्छ ।”रासस
