युक्रेनको समर्थनमा विद्यालयमा तस्वीर कोरेपछि बुबाबाट छुटाइएकी एक रूसी बालिकालाई अधिकारीहरूले उनकी आमालाई सुम्पेका बताएका छन् ।

तेह्र वर्षीय मारिया मोस्कालियोभाको संलग्नता रहेको यो घटनाले अन्तर्राष्ट्रिय ध्यान खिचेको छ । मस्कोले युक्रेनमा आक्रमणको साङ्केतिक यो आलोचनालाई कडा निगरानी गरिरहेको छ । बालिकाले एक महिला र बच्चालाई युक्रेनको झण्डा र क्षेप्यास्त्रको छेउमा रूसी झण्डासहित कोरेर राखेकी थिइन् । उनकी शिक्षिकाले उक्त तस्वीरबारे रूसी प्रहरीलाई जानकारी गराएकी थिइन् ।

घटनालाई लिएर मार्चको सुरुमा रूसी अधिकारीहरूले मारियालाई उनका बुबाबाट अलग्याएका थिए र बुधबार अबेर अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले खोजी गरिरहेका एक रुसी अधिकारीले मारिया आफ्नी आमाको हिरासतमा रहेको बताएका थिए ।

रूसी बाल अधिकार आयुक्त मारिया लभोभा–बेलोभाले टेलिग्राममा लेखेकी छन्, “सुरुमा, माशा (मारिया) आफ्नी आमाकहाँ जान चाहन्थिन् । तर, पछि उनको सोच बदलिएको छ, उनले मलाई फोनमा यसबारे बताएकी थिइन् ।”

एएफपीले यसको स्वतनत्र पुष्टि गर्न सकेन । धेरै अधिकारकर्मी र वकिलहरूले एएफपीसँगको कुराकानीमा मारियासँग उनीहरूको पहुँच नभएको गुनासो गरेका थिए ।

ती बालिका वर्षौंदेखि आफ्नी आमा ओल्गा सिचिखिनाबाट अलग बस्दै आएकी थिइन् ।