बुद्ध जन्मस्थल लुम्बिनीमा ‘शान्ति र समृद्धिका लागि खेलकुद भन्ने’ मूल नारासहित आयोजित लुम्बिनी पिस हाफ म्याराथन प्रतियोगितामा दीपक अधिकारी र राजपुरा पछाइले प्रथम स्थान हासिल गरेका छन् ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीले अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा आज २१ किलोमिटरको हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका अधिकारीले एक घण्टा छ मिनेट दुई सेकेन्डमा लुम्बिनी वरपरको २१ किलोमिटरको दूरी पूरा गरेका थिए । प्रतियोगिता पुरुषतर्फ प्रथम भएका अधिकारीले रु एक लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

यस्तै महिलातर्फ २१ किमीको दूरी नेपाल प्रहरीका पछाइले एक घण्टा २४ मिनेट दुई सेकेन्डमा पूरा गरिन । प्रतियोगितामा महिलातर्फ प्रथम भएकी पछाइले रु एक लाख ५१ हजार नगद शिल्ड तथा प्रमाणपत्र पाइन् ।

प्रतियोगितामा पुरुषतर्फ एपीएफका गोपीचन्द्र पारखी एक घण्टा छ मिनेट ४६ सेकेन्डमा दूरी पूरा गर्दै द्वितीय भएका छन् । यस्तै त्रिभुवन आर्मीका मुकेश पाल एक घन्टा सात मिनेट १५ सेकेन्डमा दूरी पार गर्दै तृतीय र त्रिभुवन आर्मीकै नरेन्द्र रावल एक घण्टा सात मिनेट १५ सेकेन्डमा दूरी पार गर्दै चौथो स्थान हासिल गर्न सफल भए ।