भोजपुरको रामप्रसाद राई गाउँपालिका-५ मानेभञ्ज्याङका स्थानीयको खानेपानीे समस्या अब समाधान हुनेभएको छ । तीन हजार दुई सय मिटर तलको पिखुवा खोलाको पानी लिफ्टिङ गरी मानेभञ्ज्याङमा पुर्‍याइएसँगै लामो समयदेखिको खानेपानी समस्या समाधान भएको हो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरको रु दश करोड ५० लाख लागतमा पिखुवा खोला मानेभञ्याङ खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीयवासीलाई राहत मिलेको हो । पानीको समस्या रहेका यहाँका तीन सय १८ बढी घरमा धारा जडान गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

पानी खोलाबाट बस्तीसम्म पु¥याउनका लागि मुख्य लाइनमा ४० हजार लिटर क्षमताका चार वटा ट्याङ्की निर्माण भएका छन् । त्यस्तै पानी वितरणका लागि ७५ र ५५ हजार लिटरका ट्याङ्की निर्माण गरिएको छ ।

यहाँ २० हजार लिटर क्षमताका छ ओटा शाखा ट्याङ्की निर्माण गरिएको आयोजनाले जनाएको छ । विगतमा पानीको खास समस्या नभए पनि २०७२ सालको भूकम्पपछि यहाँका पानीको मुहान सुक्दै गएपछि स्थानीयमा पानीको समस्या जटिल बन्दै भएको थियो । पानीका मुहान सुक्दै गएपछि यहाँका स्थानीयवासीले गाउँबस्ती नै छाड्दै गएका थिए ।

पानीका कारण बसाइँसराइ बढ्दा विगतमा आठ सय ७५ घर रहेकोमा अहिले चार सय ३५ घर मात्र बाँकी रहेको वडा नं ५ का वडाध्यक्ष जगत चौहानले बताउनुभयो । पानी बस्तीमा आएपछि यहाँका स्थानीयवासीलाई प्रत्यक्ष लाभ पुगेको वडाध्यक्ष चौहानको भनाइ छ ।रासस