पोखरा महानगरपालिकाले किसानको वर्गीकरण गरी परिचयपत्र वितरण सुरु गरेको छ । कृषिका योजना तथा कार्यक्रमलाई व्यवस्थित गर्न किसानको वर्गीकरण गरिएको हो ।

उद्यमी, व्यावसायिक, व्यवसायउन्मुख, जीविकोपार्जन र सामान्य गरी पाँच किसिमबाट किसानको अवस्था वर्गीकरण गरी परिचयपत्र दिन सुरु गरिएको हो । महानगरको कृषि तथा आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाले सबै वडामा किसान सूचीकरण र वर्गीकरणको काम भइरहेको जानकारी दिनुभयो । उहाँले वडा नं २५ हेम्जाका किसानको सूचीकरण भइसकेको बताउनुभयो ।

“आलु महोत्सवको अवसरमा यसै हप्ता हेम्जाका किसानलाई परिचयपत्र वितरण गर्दैछौँ”, महाशाखा प्रमुख कडरियाले भन्नुभयो, “किसान वर्गीकरण र परिचयपत्र वितरण कार्यक्रम अब निरन्तर चल्छ ।”

हेम्जाका एक हजार ८०९ किसान सूचीकृत भएका छन् । किसानको वर्गीकरणका लागि महानगरले चालु आर्थिक वर्षमा रु तीन लाख बजेट छुट्याएको छ । सो कामलाई छिटो सक्न महानगरले थप गणक पनि माग गरेको छ । महाशाखा प्रमुख कडरियाले सूचीकरण परेका किसानले मात्र महानगरबाट अनुदान र सहायता पाउने बताउनुभयो ।

“परिचयपत्रले किसानलाई पहिचान दिन्छ, राज्यका निकायबाट सेवासुविधा पाउने आधार पनि परिचयपत्र हो”, उहाँले भन्नुभयो, “यसले वास्तविक किसान लाभान्वित हुन्छन्, अनुदान वितरणमा देखिने गरेको वेथिति पनि अन्त्य हुन्छ ।”