हिमाल पारिको जिल्ला मुस्ताङमा जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई आज एक कार्यक्रमबीच सम्मान गरिएको छ । घरपझोङ गाउँपालिका–२ स्थित मार्फा फलफूल तथा तरकारी प्रशोधन केन्द्रको पहलमा उनीहरुलाई सम्मान गरिएको हो ।
सो अवसरमा जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विशाल तिवारीसहित नौजना स्वास्थ्यकर्मीलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विशाल तिवारी, डा मुखिया घले, डा तेजेश कुमार, डा कृष्ण भरखेर, डा शिशिर पौडेल, डा कुन्दन कर्ण, स्टाफ नर्स कल्पना बस्याल, अहेव कौशिला चौरासिया र कार्यालय सहयोगी सनिलाल परियार हुनुहुन्छ ।
गत भदौ १ मा जिल्ला स्वास्थ्य कार्यालयमा पहिलोपटक शल्यक्रियाको शुभारम्भ भएपछि चिकित्सकहरुले एक गर्भवतीको सफल शल्यक्रिया गरेका थिए । मार्फा फलफूल तथा तरकारी प्रशोधन केन्द्रकी सञ्चालक सुकुनदेवी रसाईलीले उक्त शल्यक्रियापछि आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको बताउनुभयो ।
“यहाँका चिकित्सकले यहाँ पहिलो पटक सफल शल्यक्रिया गरेकोमा हामी निकै खुसी छौँ”, उहाँले भन्नुभयो, “चिकित्सकहरुले जिल्लाको इज्जत राख्नुभएकाले सम्मान गरिएको हो ।”
