गण्डकी प्रदेशमा एकै वर्षमा एक हजार सात ३५ हेक्टर चैते धानखेतीको क्षेत्रफल घटेको छ । आर्थिक वर्ष २०७८÷७९ मा सात हजार छ सय पाँच हेक्टरमा चैते धानखेती हुँदै आएकामा अघिल्लो हिउँदमा भने किसानले जम्मा पाँच हजार आठ सय ७० हेक्टरमा चैते धान लगाएका थिए ।
चैते धानखेतीको क्षेत्रफल घटेसँगै उत्पादनमा पनि गिरावट आएको छ । प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार आव २०७८÷७९ मा ३२ हजार सात सय ७३ मेट्रिक टन धान फलेकामा चालु आवमा उत्पादन घटेर २७ हजार चार सय ३७ मेट्रिक टन पुगेको छ । वर्ष दिनको अन्तरमा १६ दशमलव २८ प्रतिशतले चैते धानको उत्पादन घटेको हो ।
धानको उत्पादकत्वमा भने अघिल्लो आवको तुलनामा आठ दशमलव ४६ प्रतिशतले वृद्धि भएको पाइएको छ । आव २०७८।७९ मा प्रतिहेक्टरमा चार दशमलव ३१ मेट्रिक टन उत्पादन भएकामा चालु आवमा चैते धानको उत्पादकत्व प्रतिहेक्टर चार दशमलव ६७ छ । कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जिल्लामा जम्मा १० हेक्टर क्षेत्रफलमा मात्र चैते धानखेती हुने गरेको बताउनुभयो । पछिल्लो समय चैते धानप्रति किसानको आकर्षण घट्दै गएको उहाँको भनाइ छ । प्रदेशका अरु जिल्लामा पनि चैते धानखेतीमा ह्रास आइरहेको छ ।
“चैते धान भित्र्याउने बेला वर्षात्को याम पर्ने भएकाले पनि किसानलाई मर्का पर्ने गरेको छ, पानीमा भिजेको धान बेच्न समस्या हुन्छ, पराल पनि बिग्रन्छ”, प्रमुख भट्टराईले भन्नुभयो, “किसानले पछिल्लो समय चैते धानको सट्टा तरकारीलगायत नगदे बाली लगाउन थालेका छन् ।”
