बागलुङ, पर्वत र म्याग्दीमा सडक मानवमुक्त अभियान प्रभावकारी बन्दै गएको छ । छ वर्ष पहिला सडक मानवमुक्त अभियानका निम्ति खोलिएको मानव सेवा आश्रम बागलुङ शाखाको सक्रियताका कारण सडक मानवमुक्त अभियान सफल हुँदै गएको छ ।

अहिले कालिका मन्दिर परिसरमा मागेर खाने देख्न पाइँदैनन । उनीहरूको उपचारका साथै आश्रय दिएपछि कालिका मन्दिर परिसरमा उनीहरु कमै आउन थालेका हुन् । बागलुङका विभिन्न चोक तथा गल्लीमा पनि मागेर खानेको सङ्ख्या क्रमशः घट्दै गएको छ । आश्रमले धवलागिरिको म्याग्दी, पर्वत र बागलुङलाई सडक मानवमुक्त अभियान बनाउने लक्ष्यका साथ सडक तथा बेसहाराको उद्धार, उपचार, हेरचाह तथा पुनःमिलन गराउँदै आएको छ । बेसहाराको उपचार र व्यवस्थापन गर्दा अभियान सफल बन्दै गएको आश्रमका संयोजक विपाना तामाङले बताउनुभयो ।

चालु आर्थिक वर्षमा धवलागिरिका तीन जिल्लाबाट २७ जनाको उद्धार गरिएको छ । हाल आश्रममा ४९ बेसहारा तथा सडक आश्रित व्यक्ति रहेको तामाङले बताउनुभयो । चालु आवमा छ जनाको पुनःमिलन, तीन जनाको मृत्यु तथा स्वेच्छिकरुपमा १२ जनाले आश्रम छाडेका छन् ।