बैतडीको तल्लोस्वराडस्थित नेपाल–भारत सीमा नदी महाकालीमा डुङ्गा सञ्चालन गर्न भारतीय पक्षले रोक लगाएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकास्थित हल्दुविनायक घाटमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले डुङ्गा सञ्चालनमा रोक लगाएको हो ।
यहाँका अन्य घाटमा सहजैरुपमा डुङ्गा सञ्चालनमा भए पनि हल्दुविनायक घाटमा एसएसबीले एक वर्षदेखि अवरोध गर्दै आएको डुङ्गा चालक सुरेन्द्र चन्दले जानकारी दिनुभयो । पञ्चेश्वर गाउँपालिकाले महाकालीमा रहेका घाटहरुमा डुङ्गा सञ्चालनका लागि ठेक्का खोलेर सुरेन्द्रलाई अनुमति पाएको भए पनि भारतीय पक्षले अवरोध गर्दा समस्या भएको छ ।
गाउँपालिकाले रू ६६ हजार ठेक्कामा डुङ्गा चलाउने अनुमति दिए पनि एसएसबीले डुङ्गा चलाउन रोक लगाएको उहाँको भनाइ छ । “महाकालीमा डुङ्गा चलाएरै जीवनयापन गर्दै आएको थिए । गत वर्षदेखि एसएसबीले डुङ्गा सञ्चालन गर्न नदिँदा रोजिरोटी नै बन्द भएको छ”, उहाँले भन्नुभयो ।
एसएसबीले भारतीय प्रशासनको पनि अनुमति चाहिने भन्दै सञ्चालनमा अवरोध गरेको चन्दको भनाइ छ । डुङ्गा निर्माणका लागि एक लाख बढी र अनुमतिबाट लागि ६६ हजार खर्च भएको उहाँले बताउनुभयो ।
भारतीय सीमा सुरक्षा बलको अवरोधबारे गाउँपालिकालाई पटक–पटक जानकारी गरिएको भए पनि कुनै सुनुवाइ नभएको चन्दको गुनासो छ । “डुङ्गा चलाउनका लागि गाउँपालिकाले अनुमति दिएकाले पटक–पटक गाउँपालिकामा धाए पनि कुनै सुनुवाइ भएको छैन । भारतीय प्रशासनको अनुमति म कहाँबाट ल्याऊँ”, उहाँले भन्नुभयो ।
